झापा– अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
पीडित परिवारका तर्फबाट परेको उजुरीका आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ। हत्या आरोपित अन्य पाँच जना फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए।
असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको थियो। दशैंको टीकाको दिन बेपत्ता भएका बालकको शव भोलिपल्ट विर्तामोड– १ बैसाबाडीस्थित झाडीमा फेला परेको थियो।
घटनापछि हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखी स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिँदा विर्तामोडको अवस्था तनावग्रस्त बनेको थियो। विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा असोज १४ गते अर्जुनधाराका नरेश थापाको मृत्यु भएको थियो। मुक्ति चोक नजिक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। स्थानीयबासी तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागी थापाको मृत्यु भएको थियो। स्थितिलाई साम्य पार्न विर्तामोडमा तीन दिनसम्म कर्फ्यु लगाइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।