काठमाडौं– जापनी नागरिकलाई ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका गैरआवासीय नेपाली संघ (एनआरएन) का नेता अनुज थापा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
एक महिनाअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो। नेपालमा राम्रो स्कुल खोल्ने र त्यसबाट धेरै मुनाफा हुने विश्वास दिलाएर उनले जापानी नागरिक यामामोतो हिलेरेकालाई ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई पक्राउ गरेको थियो।
स्कुलको संरचना बनाउन भनेर पाँच करोड ८२ लाख ७५ हजार रुपैयाँ लिएकोमा त्यो पैसा उनले घर, गाडी खरिद तथा मोजमस्तीमा सिध्याएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
प्रोफेसर यामामोतोको जापानमा यामामोतो कोकुसाई गाकुन् नामक कलेज छ। सोही कलेजका लागि नेपालबाट विद्यार्थी समेत लैजान सकिने विश्वास दिलाएर थापाले पैसा लिएका थिए।
थापा जापानमै बस्दै आएका थिए। धेरै पैसा उनले जापानमै लिएका थिए। यामामोतोले स्कुल खोल्न किन ढिलाइ भएको भन्दै सोधीखोजी गर्न थालेपछि उनी टाढा हुँदै गएका थिए। पछिल्लो समय उनी नेपाल नै बस्न थालेका थिए। जापानी नागरिकले नेपाल नै आएर उनीविरुद्ध उजुरी दिएका हुन्। कम्पनी स्थापना गरेर घर किन्दा धेरै समस्या हुने भन्दै उनले आफ्नो नाममा घर किनेका थिए। त्यो घरसमेत बैंकमा राखेर उनले दुई करोड ऋण पनि लिएका थिए।
पक्राउ परेपछि छुटाउन उनले नेताहरु मार्फत दबाब दिएको बताइएको छ। प्रहरीले नमानेपछि सरकारी वकिल कार्यालयमा चलखेल गरी उनले मुद्दा कमजोर बनाएर धरौटीमा छुटेको प्रहरी अधिकारीहरु बताउँछन्। ‘ठगीको प्रस्ट प्रमाण हुँदाहुँदै थोरै धरौटीमा छुट्नुमा पक्कै चलखेल भएको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। थापा एनआरएन जापानका पूर्व महासचिव हुन्। जापानमा उनले प्रोफेसर यामामोतोकै कलेजमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।