गोरखा- प्रतिबन्धित जडिबुटी पाँचऔंले ओसारपसार आरोपमा पक्राउ परेका गोरखाको आरुघाट गाउँपालिकाका कमल गुरुङ पुर्पक्षका लागि थुनामा परेका छन्। उनीसँगै पक्राउ परेका बस चालक सपतबहादुर मगर भने धरौटीमा छुटेका छन्।
गएको असोज ३१ गते ७४ किलोग्राम प्रतिबन्धित जडिबुटी पाँचऔंले सहित गुरुङ र मगरलाई इलाका प्रहरी कार्यालय आरुघाटले पक्राउ गरेको थियो।
ओसारपसारमा संलग्न भएका आरुघाट गाउँपालिका–९, चाँपपानीका गुरुङ र प्रयोग भएको बसका चालक मगरलाई प्रहरीले जिल्ला वन कार्यालय गोरखाको जिम्मा लगाएको थियो। वन कार्यालयले उनीहरुविरुद्ध बिहीबार जिल्ला अदालत गोरखामा मुद्दा दायर गरेको थियो। शुक्रबार भएको थुनछेक आदेशमा गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने र मगरलाई ९ हजार धरौटीमा रिहा गर्ने फैसला भएको जिल्ला न्यायाधीश वसन्तराज पौडेलले बताए।
वन कार्यालयले बरामद गरिएको ७४ किलोग्राम पाँचऔंलेको बिगोको मूल्य १ करोड ९५ लाख ३८ हजार रुपैयाँ हुने ठहर गरेको छ। एउटा पाँचऔंलेको सरकारी रोयल्टी रकम १ हजार रुपैयाँ रहेको छ। वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत एवम् घटनाका अनुसन्धान अधिकृत बालकुमार नेपालले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको माग दाबी गरिएको छ। त्यसैका आधारमा गुरुङ र मगरविरुद्ध झन्डै ४ करोड रुपैयाँ जरिवानाको मागदाबी गरेको जिल्ला वन कार्यालयले जनाएको छ।
पाँचऔंले २ हजार ५ सयदेखि ३ हजार मिटर उचाइमा हुने लोपोन्मुख जडिबुटी अन्तर्गत पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।