रसुवा- मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात गरिएको छ।
रसुवागढी भन्सार कार्यालयका अनुसार पहिलो चरणमा एक सय ३७ हजार थान निर्वाचन सामग्री आयात भइसकेको छ। निर्वाचन सामग्री बोकेका पाँच वटा कन्टेनर बुधबार दिउँसो नेपाल प्रवेश गरेका छन्।
ती कन्टेनरमा मसी, रबर म्याट र छेकाबार ल्याइएको छ। निर्वाचनका लागि ३५ हजार थान मसी प्याड, ३० हजार थान छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टेनर बुधबार नै काठमाडौं पठाइएको छ।
रसुवागढी नाका हुँदै आएको उक्त सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कर्टिङमा निर्वाचन आयोग लगिएको हो।
यस पटकको निर्वाचन सामग्री ग्लोबल लोजेष्टिक कम्पनीले आयात गर्नेछ। कम्पनीका महाप्रबन्धक प्रदीप बस्नेतका अनुसार केरूङमा पाँच वटा कन्टेनरमा सेक्युरिटी शिल, मसी, छेकाबार, स्ट्याप म्याट लगायतका अन्य सामग्री लोड भइरहेको छ।
निर्वाचन सामग्री ल्याउन १० वटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनर प्रयोग हुने महाप्रबन्धक बस्नेतले बताए। आउन बाँकी सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।