चितवन- पटकपटक सर्दै आएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी फेरि सरेको छ।
हालसम्म मुद्दाको पेशी १५औं पटक सरेकोमा यस पटक मंसिर २५ गतेका लागि सरेको हो । पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो।
जिल्ला अदालत चितवनमा भर्खरै आएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानुन व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताए । देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेशीबाट हटाई पाऊँ भनी निवेदन दिएको थिए । सो निवेदनको मागअनुसार पेशी सारिएको हो ।
झन्डै एक वर्षदेखि सो मुद्दाको पेशी विभिन्न कारण सर्दै आएको छ।
०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएको र त्यसको साढे १ वर्षपछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो।
जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन्।
सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकोमा ०७१ असारमा पुनरावेदन अदालत हेटौंडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो । त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन्।
किटानी जाहेरी परेकामा छविलालका साथै जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।