पर्सा- म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनै जना अभियुक्तलाई पर्सा प्रहरीले पत्रकार सम्मेलनको अयोजना गरी सार्वजनिक गरेको हो।
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा भइरहेको म्यादी प्रहरी छनोटमा पास गराई जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठग्ने गरेको अभियोगमा पर्साको बहुदरमाई नगरपालिका–१ निवासी हरिनारायण राम, वडा नम्बर ५ निवासी विसुन्देव यादव र छठु महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए।
पक्राउ परेका व्यक्तिले रकम ठग्नैका लागि म्यादी प्रहरीका लागि आवश्यक नै नपर्ने स्वास्थ्य परीक्षणसमेत विभिन्न अस्पतालबाट गराइएको रिपोर्ट पनि फेला परेको उपरीक्षक रेग्मीले जानकारी दिए।
पक्राउ गरिएका अभियुक्तबाट म्यादी प्रहरीका सक्कल प्रवेशपत्र २२ थान, प्रवेशपत्रको फोटोकपी २० थान, स्वास्थ्य परीक्षण रिपोर्ट पाँच थान, मोबाइल तीनथान र रु ३७ हजार १०० नगद बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।