काठमाडौं– सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने निर्देशिका आएको आज ठ्याक्कै तीन वर्ष पुगेको छ । ०७१ साल कात्तिक १३ गते ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश, चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका- २०७१’ जारी भएको थियो।
तर, सूर्तीजन्य पदार्थ उत्पादन गर्नेमध्येको एउटा कम्पनी सूर्य नेपालका कारण ३ वर्षसम्म पनि कानुन कार्यान्वयन हुन सकेको छैन । अन्य सूर्ती कम्पनीले ९० प्रतिशत शन्देश र चित्र छापेपनि सूर्य नेपालले आनकानी गरिरहेको छ । उक्त कम्पनीको आर्थिक आर्थिक प्रलोभनमा परेर कार्यान्वयनका लागि दबाब दिनुपर्ने निकाय कानमा तेल हालेर बसेको देखिएको छ।
ऐन कार्यान्वयनका लागि दिइएको समय ६ महिना अनुसार २०७२ साल जेठ १ गतेदेखि उक्त नियम लागू हुनुपर्ने थियो । कानुन कार्यान्वयनका लागि पहल गर्नुपर्ने स्वास्थ्य, उद्योग र गृह मन्त्रालयका अधिकारीहरुलाई सूर्ती उद्योगहरुले प्रभावमा राखेका कारण कानून कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन्।
सूर्तीजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक्सन नेपालले उद्योगीको प्रभावमा सरकारी निकायहरु कार्यान्वयनमा पन्छिएको बताएको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले भने, ‘सरोकारवाला निकायहरुको उदासिनताका कारण देशकै बेइज्जत हुने अवस्था आइसक्यो ।’ सूर्तीजन्य पदार्थको नियन्त्रणमा कानुन बनाएको भन्दा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत नेपालले कार्यान्वयन गर्न नसकेकाले यस्तो स्थिति आएको उनी बताउँछन्।
स्वास्थ्य मन्त्रालयकी डा राधिका थपलियाले आफूहरुले ऐन कार्यान्वयन गराउनका लागि उद्योग मन्त्रालयसँग पटक–पटक आग्रह गरेको बताएकी छिन् । उनले भनिन्, ‘हामीले हिजो मात्रै फेरि अर्काे चिठी लेखेर पठाएका छौं । यसअघि पनि उद्योग मन्त्रालय र आन्तरिक राजस्व विभागलाई पटक–पटक पत्राचार गरेको देखिन्छ।’
यसैगरी जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सूर्तीरहित सहर बनाउने योजनामा आफूहरु रहेको बताए । उनले त्यसका लागि १ करोड रुपैयाँको अन्तर्राष्ट्रिय सहयोग समेत आइसकेको बताउँदै प्रस्ताव महानगरमा पेश गरिएको जानकारी दिए । उनले भने, ‘काठमाडौं महानगरमा अनुगमन निकै चुनौतीपूर्ण छ । तर, पनि हामी चाँडै यसमा तीव्र रुपमा लागिपर्ने योजनामा छौं।’
अधिवक्ता रामचन्द्र शर्माले उद्योग मन्त्रालय सर्वसाधारणको स्वास्थ्यका विरुद्ध लागिरहेको आरोप लगाए । उद्योगीका पक्षमा चिठी लेखेको देखाउँदै यसले उनीहरुको मनोबल बढेको बताए।
सूर्य नेपालमा ९० प्रतिशतमा सन्देशमूलक चित्र र सन्देश छाप्ने नियम कार्यान्वयन नगर्दा अन्यले पनि नियम मिच्न थालेको बताइएको छ । चित्र छाप्दा पाँचवटा विभिन्न छाप्नुनपर्ने, सन्देश नेपाली भाषामा हुनुपर्ने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाइने, खिल्ली बेच्न नपाइने, विज्ञापन गर्न नपाइने जस्ता नियम पनि उल्लंघन गरिएको पाइएको छ । अर्काे सूर्ती कम्पनी विनस्टनले त फ्लेभर उल्लेख गरेको, ग्राहकलाई चुरोट खान उत्प्रेरित गरिरहेको र सजाएर राख्ने गरेको भेटिएको एक्सन नेपालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।