राजविराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका-२, मोहनपुरका किसान राजकुमार मालाकार भण्डारी (माली)ले २० वर्षअघि छिन्नमस्ता मन्दिर नजिकै फूल-मालासहित पूजा सामग्रीको पसल खोले। खेतीपातीबाट जीविका चल्न छोडेपछि विकल्पको रुपमा खोलिएको पसल अहिले उनको मुख्य पेसा भएको छ।
सामान्य खेतीपाती र पूजा सामग्रीको पसलकै आम्दानीले मालीले १५ जनाको परिवार पालेका छन्। छोरीछोरीको पढाइ-लेखाइ, परिवारको स्वास्थ्य उपचार र अन्य खर्च त्यसैबाट चलाएका छन्। जग्गाको नाममा ३ कठ्ठा घडेरी छ, डेढ बिघा जमिन अधियाँ कमाएका छन्। ‘खेती भनेको भरथेगका लागि मात्रै हो, काम पनि एक-दुई महिना मात्रै हुन्छ,’ ६० वर्षीय माली भन्छन्, ‘बाँकी समय पसलमै बित्छ र यसैको आन्दानीले परिवार चलेको छ।’
मालीका पत्नी राधासहित ५ जनाको परिवार छ। १९ वर्षीय छोरा ओमप्रकाश भने विराटनगरस्थित मेरिल्यान्ड कलेजमा सिए (चार्टर्ड एकाउन्टेन्ट) अध्ययनरत छन्। छोरी जानकीको ५ वर्षअघि विवाह भयो। ‘विवाहमा पनि कमसेकम ५ लाख रुपैयाँ खर्च भयो,’ माली सम्झन्छन्। पढाइमा कमजोर भएकाले कान्छी छोरी पुनिताले ९ कक्षाबाट पढ्नै छोडिन्।
मालीका अर्का छोरा हरेरामका पत्नीसहित ३ छोराछोरी छन्। २२ वर्षीय हरेराम उनलाई काममा सघाउँछन्।
भाइ रामसेवकका ६ जनाको परिवार पनि सगोलमै छ। ४/५ वर्ष मलेसिया बसेर फर्केपछि उनी पनि कमाउन भारततर्फ आउजाउ गर्ने गरेका छन्।
तर, परिवार चलाउन पसल नै निरन्तर आम्दानीको स्रोत भएको मालीले बताए। छोराछोरीको विवाह र सिए पढिरहेका छोराको पढाइमा पसलले ठूलो सहयोग गरेको उनी बताउँछन्।
‘सिएको कोर्स गर्न कलेजलाई नै ८ लाख बुझाउनुपर्यो,' उनले भने, ‘पसल नभएको भए, हिम्मत गर्न सक्ने अवस्था नै थिएन।’
ओमप्रकाश मात्र होइन, भाइ रामसेवकका छोरा जयप्रकाश पनि सोही कलेजमा बिबिए अध्ययनरत छन्। उनको पढाइका लागि पनि कलेजलाई ५ लाख बुझाउनुपर्छ। ‘बाँकी पैसा किस्तामा बुझाउने सर्तमा एक लाख बुझाएर भर्ना गराएका छौं,’ माली थप्छन्।
कति छ पसलको आम्दानी?
फूल, माला लगायत पूजा सामग्री बेचेर पसलबाट राम्रै आम्दानी हुने गरेको राजकुमार बताउँछन्।
दसैं, तिहार, विश्वकर्मा पूजा लगायतका चाडपर्वमा बिक्री बढी हुने गरेको छ। ‘दसैंको बेला सरदर एक लाखसम्मको सामान बिक्री हुन्छ,’ उनले भने, 'चाडबाड बाहेकको समयमा आम्दानी त घट्छ, तर चिन्ता गर्नुपर्ने अवस्थाचाहिँ आएको छैन।’
असार, साउन र भदौमा तथा अन्य महिनाको मंगलबार र बिहीबार मन्दिरमा भक्तजनको कमी आउनाले पूजा सामग्री बिक्री लगायत अन्य सबै क्षेत्रमा चहलपहल घट्ने गरेको उनी बताउँछन्।
पूजा सामग्रीकै ३ दर्जन पसल
मालीले २०५० सालमा पसल खोल्दा मन्दिर आसपासमा अन्य तीन वटा मात्रै पूजा सामग्रीका पसल थिए। मन्दिरमा दर्शन गर्न आउनेको संख्या पनि थोरै थियो। तर, अहिले मन्दिरमा भक्तजनको संख्या थपिँदै गएपछि पसल पनि थपिने क्रम जारी छ।
छिन्नमस्ता-१ का अशोककुमार मण्डल, ललितादेवी शर्मा, राधादेवी सहनी लगायत तीन दर्जन बढीले अहिले मन्दिर प्रांगणमै पूजा सामग्रीको पसल सञ्चालन गरेका छन्। खेतीपाती थोरै भएका अधिकांशको जीवन निर्वाह पूजामाला बेचेरै चलेको छ।
मन्दिर प्रांगणबाहिर पनि यस्ता पसल धेरै पसल सञ्चालनमा रहेको उनीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।