जनकपुर- महिलाहरुप्रति हिंसा बढ्दै गएपछि मध्यकालमा त्यसबाट सौन्दर्य बढाउने खालका नभई कुरुप बनाउने शृंगारका रुपमा प्रचलित थियो, गोदना। अहिले त्यही गोदना आधुनिकतासँगै ट्याटुको रुपमा प्रयोग भइरहेको छ। ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रका युवायुवती समेत ट्याटुमा लोभिन थालेका छन्।
गोदनामा छालामा छिद्र जस्तो पारेर नीर वा कोइला हालेको पानीमा डुबाइएको सियोले खोपेर शरीरमा विभिन्न चित्र, नाम र बुट्टा बनाउने गरिन्छ।
गोदनाको प्रसंगमा मिथिलामा अनेक अवधारणाहरु पाइन्छ। कामुक राजाबाट बच्नका लागि गोदनाको सुरुवात भएको इतिहास छ। तत्कालीन राजाहरुबाट आफ्ना छोरी, बुहारीलाई बचाउन यस परम्पराको सुरुवात गरिएको संस्कृतिविद् लालबाबु झा बताउँछन्।
मिथिलामा गोदनाको परम्परा
गोदना मिथिला जस्तो निर्धन क्षेत्रमा नारीको लागि सस्तो र सर्वसुलभ शृंगारको साधानको रुपमा रहेको पाइन्छ। गोदना बनाउने बेलामा निकै पीडा हुने गर्छ। दुखाइको पीडा कम गराउन आकर्षक लोकगीतहरु पनि गाउने चलन पनि छ। मिथिलामा गोदनाका क्रममा यस्ता गीत गाइन्छ–
‘गोरी कहाँ गोदौला तोहुँ गोदना
बहियाँ गोदौलो, छयियो गोदौलो
पियाके पलङ्ग पर रोदना
गोरी कहाँ गोदौला तोहँ गोदना।’
अर्थात्, प्रियकहाँ गोदना बनायौं, यता प्रेमीलाई कष्ट भएको छ।
गोदनाको बेला सिर्जित पीडालाई कम गराउन मुख्य गीतको ध्येय हुने भएकाले यस्ता गीतले गोदनाको असह्य पीडालाई प्रेमीको मिठो सम्झनामा लिन गर्न गरेको यो गीतले पनि स्पष्ट पार्छ–
‘जान, वइसि रे गेलइ चन्दन बिरिछिया रे जान
घरसँ बाहर भेली सुन्दरीपुतहुवा रे जान
जान, हमहुँ सासु गोदना गोदवए रे जान
बाँहिया गोदनके पुतहुँ सोनेके कङ्गनमा रे जान
जान, छतिया गोदनके तोहरो ललनमा रे जान।।’
गोदना स्मृतिका लागि पनि गरिने परम्परा रहेको छ। आफ्नो प्रिय व्यक्तिको रुपमा गोदना गर्ने परम्परा पनि देखिन्छ। त्यस्तै, धार्मिक व्यक्तिहरुले समेत आफना पुजनीय देवताहरु राम, कृष्णा, हनुमान्,दुर्गाका आकार तथा भक्तिपद गोदनाद्वारा अंगमा अंकित गराएको पाइन्छ।

गोदना अंगमा गरिने भएकाले यसलाई अंगलेखन पनि भनिन्छ। हुन त यसको प्रारम्भका सन्दर्भमा निश्चित तथ्य अहिलेसम्म फेला नपरे पनि यो एउटा कला भएकाले कलाको विकाससँगै यो विस्तारित भएको र कलान्तरमा यसलाई केही समूहद्वारा व्यावसायिक रुपमा अङ्गीकार गरेको अनुमान गरिन्छ।
आधुनिक सुविधा सम्पन्न युगमा यो कष्टकर परम्पराबाट कतिपय समुदाय विमुख भएको पनि पाइन्छ। तथापि आदिवासी क्षेत्रमा अहिले पनि जीवित देखिन्छ।
कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तहको महत्वपूर्ण हात हुन्छ। जसले सम्पूर्ण जीवनशैलीलाई एउटा निश्चित धारतिर डोर्याइरहेको यथार्थलाई पनि गोदनाको अवधारणाबाट बुझन सकिने कुरा यस गीतले प्रस्ट पार्छ–
‘गोर देहमे गोदना
कारी देहमे गहना’
अर्थात्, गोरो जिउ वा कालो जिउमा गोदनाले मानवद्वारा निर्मित मानवीय स्वभावको दिग्दर्शनको बोध गराउँछ।

यसका अतिरिक्त मिथिलामा गोदनाको पृष्ठभूमिमा एउटा अर्को भनाइ पनि प्रचलित छ। डोम जातिका युवतीहरु मुगल सम्राटहरु (मुश्लिम) तथा अन्य शोषक सामन्तहरुको सिकार हुनुपर्थ्यो। तिनीहरुबाट बच्न डोमहरुले सुँगुर पालन गर्ने र गोदना बनाउने कामको थालनी गरेको भनिन्छ। सुँगुर पालेका कारण मुश्लिमहरुले घृणा गर्ने र गोदनाको कारण कुरुप देखिने हुँदा तिनीहरुप्रति आकर्षण नहुने डोमहरुको सोच बन्यो। पछि गएर गोदना शृंगारको रुपमा विकसित भयो।
गोदनाका प्रसंगमा मिथिलामा एउटा यस्तो अवधारणा पनि छ कि यो एउटा पवित्र गहना हो ‘जुन मृत्युपश्चात् सबै आभुषण मृत्यु भुवनमा रहे पनि गोदनासँगै जान्छ।’
'जसको शरीरमा गोदना हुन्छ, त्यो स्त्री पतिको अत्यन्त प्रिय हुन्छ र स्त्रीले पतिबाट अधिक प्रेम पाउँछिन् भन्ने अवधारणासमेत छ,' संस्कृतिविद् लालबाबु झा भन्छन्। स्त्रीहरुले मिथिलामा प्राचीनकालदेखि नै यसलाई स्थायी शृंगारका रुपमा स्वीकार गरेका कारण गोदना घोच्नेहरुको पेस नै चलेको उनले बताए।

मिथिलाञ्चलमा आदिवासी जनजाति समुदायमा गोदना ज्यादै लोकप्रिय छ। विशेषरुपले थारु, दुनुवार एवं अन्य स्त्रीगणमा यो प्रथा अधिक देखिन्छ। गोदनाका सन्दर्भमा आदिवासी जाति जसको अंगमा जति गोदना हुन्छ, त्यो स्त्री उति नै साहसी र निर्भीक हुन्छ भन्ने धारणा रहेको छ।
यसका साथै गोदनाले सौन्दर्यवृद्धि र ऐश्वर्य वृद्धिसमेत गर्छ भन्ने अवधारणाका कारण कुमारीले पनि गोदनालाई शृंगारका रुपमा स्वीकार गरेको वयोबृद्ध शिक्षाविद् रमापति चौधरी बताउँछन्। 'गोदना आदिमकालमा एउटा शृंगार प्रसाधन भएकाले गोदनाका क्रममा अधिक कष्ट भए पनि यसको आकर्षणबाट टाढा नहुने चाहनामा कमी आएको छैन,' उनले भने।

हुन त आधुनिकताको चपेटामा लोकजीवन परे पनि गोदना शृंगारका रुपमा अहिले विश्वव्यापी रुपमा ट्याटुका रुपमा सौन्दर्यको प्रतीक बन्न पुगेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।