धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताले गम्भीर आशंका पैदा गरेको बताएका छन्।
शुक्रबार राउतले सरकारसँग भएको सहमतिलाई लिएर सामाजिक सञ्जालमार्फत 'मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने' कुरा लेखेकाले झनै शंका उब्जाएको उनकाे भनाइ थियाे।
‘सम्झौताको भाषा विवादास्पद रहेको छ। रहस्यमय ढंगबाट भएको सम्झौता डरलाग्दो र शंकास्पद देखिएको छ’, अध्यक्ष थापाले भने, ‘सरकारले तुरुन्तै आफ्नाे धारणा जनतालाई स्पष्ट पार्नुपर्छ।’
राप्रपाको मेची महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत धनगढीमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय अखण्डतामा विभाजन ल्याउने खालका कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गरे।
उनले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता जनमत संग्रह वा आवधिक चुनाब कुनै प्रक्रियाबाट पनि परिवर्तन वा संशाेधन हुन नसक्ने दाबी गरे। विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त्य नभएसम्म एक समूहको निर्णयको अर्थ रहन्न भन्ने राप्रपाको मान्यता रहेको उनको भनाइ थियो।
विखण्डनकाे एजेन्डा परित्याग स्वागतयोग्य भए पनि संवेदनशील विषयमा सरकारले जनतालाई आश्वस्त पार्नुपार्ने उनको माग थियाे।
फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट सुरु भएको राप्रपा नेपालको 'राष्ट्रिय स्वभिमान यात्रा' शनिबार कैलाली पुगेको हो। कैलालीको कैलारी गाउँपालिकामा आयोजित आमसभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए। हिन्दू राष्ट्र पुनर्स्थापना, राजसंस्था र संघियताका विषयमा जनमत संग्रहलगायतका मुद्दा उठाएर स्वाभिमान यात्रा सुरु गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।