काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आयोजना गर्न लागेको जनसभालाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन्।
नेकपाको प्रदेश २ कमिटिले शनिबार रौतहटको गरुढामा आयोजना गर्ने जनसभालाई पार्टीका दुबै अध्यक्षले सम्बोधन गर्ने प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए।
सरकार गठन भएकाे एक वर्ष पुगेको र मधेश कस्तो प्राथमिकतामा छ? भन्ने विषयमा ओली र प्रचण्डले सम्बोधन गर्ने उनले बताए। ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार भएको हुनाले सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली’ नारा दिएको छ', मण्डलले भने, ‘त्यो अुनसार के–के भइरहेको छ? सरकारको एक वर्ष पनि बित्यो, मधेशका लागि के–के योजना छन्? कस्तो प्राथमिकतामा मधेश परेको छ? यी कुरामा उहाँहरुले सम्बोधन गर्नुहुनेछ।’
पार्टी एकीकरणपछि नेकपाले मधेसमा एउटा पनि सभा गर्न सकेको छैन।
बुधबार मात्रै सर्वोच्च अदालतले कैलालीका सांसद रेशम चौधरी लगायत ११ जनालाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।