काठमाडाैं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग जिल्लाका कार्यक्रममा भने सँगै देखिने भएका छन्।
अघिल्लाे मंगलबार डाकिएकोे केन्द्रीय समितिको बैठक पौडेल र कृष्ण प्रसाद सिटौला समूहका नेताहरुले बहिष्कार गरेपछि बस्न सकेको थिएन। केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने विधानको प्रावधानप्रति संस्थापन इतर समूहले आपत्ति जनाउँदै आएको छ। आरक्षणको प्रावधानको दुरुपयोग भएको उक्त समूहको ठम्याई छ। साथै, पार्टी सभापतिले अनुशासन समिति एकलौटी तरिकाले गठन गर्ने प्रक्रिया सुरु गरेको भन्दै इतर समूहका नेताहरु रुष्ट छन्।
केन्द्रमा रुष्ट पौडेल जिल्ला दौडाहामा निस्केका सभापतिसँगै गण्डकी प्रदेशका जिल्लाहरुमा हुने कार्यक्रममा सहभागी हुने भएका छन्। दुबै शीर्ष नेताहरुले एकहप्ते जिल्ला दौडाहाकाे कार्यक्रम सार्वजनिक गरेका छन्।
पार्टी सभापतिले फागुन २३ मा जिल्ला जाने कार्यक्रम सार्वजनिक गरेका थिए। देउवाले कार्यतालिका प्रकाशित गरेको दुई दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कार्यतालिका सार्वजनिक गरेका हुन्। शीर्ष दुई नेताहरु यसअघि कार्यतालिका सार्वजनिक नगरि जिल्लामा निस्कने गर्दै आएका थिए।
केन्द्रमा तिक्तता बढेका दुई नेता एउटै मञ्चमा म्याग्दी र पर्वतमा देखिन लागेका हुन्। बिहीबारबाट जिल्लाका कार्यक्रममा देउवा निस्किएका छन्। शनिबारबाट जिल्लाका कार्यक्रममा जान लागेका पौडेलको भेट सभापति देउवासँग सोही दिन म्याग्दीमा हुनेछ। जिल्ला कार्यसमिति म्याग्दीले निर्माण गरेको पार्टी कार्यालय उद्धघाटन गर्नका लागि दुबै नेता म्याग्दी पुग्न लागेका हुन्।
दुई नेताको अर्को भेट म्याग्दीसँगै जोडिएको अर्को जिल्ला पर्वतमा पनि हुनेछ। उक्त कार्यक्रम पनि कार्यलय भवनसँग सम्बन्धित नै राखिएको छ। पर्वतस्थित जलजला गाँउपालिका कार्यसमितिको भवनको शिलान्यास दुबै नेताले आइतबार गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।