राजविराज- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले मधेशी र आदिवासी जनतासँग राजनैतिक वैमानी गरेको आरोप लगाएका छन्।
मलेठ घटनाका सहिदहरुको दोस्रो पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली दिन बिहीबार राजविराज आएका महतोले भने, ‘राज्य अधिकार, न्याय र समानतालगायत हरेक हिसाबमा विभेदकारी छ। अब यसको जवाफ दिने बेला आयो।’
अधिकार प्राप्तिका लागि लडेको आन्दोलनकारी माथि अन्याय भएको भन्दै उनले रेशम चौधरीलाई आजिवन कारावासको सजाय सुनाएको विषयमा न्यायालयको आलोचना गरे। ‘अधिकार माग्ने आन्दोलनकारी अपराधी हुन्छ भने अन्य आन्दोलनका आन्दोलनकारीको विषयमा के हुन्छ?’, महतोले प्रश्न गरे।
‘टिकापुर घट्ना दु:खद हो, अवोध बालकसहित धेरै सुरक्षाकर्मी मारिए। तर यो नै पहिलो दु:खद घटना हो?', महतोले प्रश्न गरे, ‘माओवादीको लडाइँमा दशौं हजार सुरक्षाकर्मी मारिएका छन्, त्यसका नाइके थिए–प्रचण्ड। टिकापुर घटनाका नाइकेलाई आजिवन कारावास हुन्छ भने अब प्रचण्डलाई हुने बास कुन हो?
ढुङ्गेल थर लागेकाले सफाई पाएको र दाहाल थर भएकैले प्रचण्डले गद्धि पाएको भन्दै महतोले थारु र मधेशीका छोराछोरीमाथि राज्यले सुनियोजित रुपमा आक्रमण गरेको आरोप लगाए।
सरकारले निदर्यी, बेइमानी र नश्लवादी चिन्तनका साथ आक्रमणमा उत्रेको भन्दै उनले अब पहाड, मधेश, आदिवासी, थारु, जनजाती नभई सम्पूर्ण रुपमा एकजुट र पूर्ण आन्दोलन गरी सरकारलाई घुँडा टेकाउनु पर्ने उद्घोष गरे।
अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव तथा अन्य सदस्यहरु सरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा लगायतले पनि रेशम चौधरीसहित ११ जना आन्दोलनकारीलाई जन्मकैदको सजाय सुनाइएकोमा असन्तुष्टि व्यक्त गर्दै राज्यले उनीहरु माथि अन्याय गरेको आरोप लगाए।
दुई वर्ष अघि तत्कालीन नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठ नजिकै रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित सभा स्थलमा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा ५ जनाको ज्यान गएको थियो। सोही घटनामा मारिएका मलेठका पिताम्बर मण्डल, संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
पार्टी एक गर्न फोरमलाई दबाब
राजपा अध्यक्ष मण्डलका अधिकांश सदस्यले फोरम र राजपा एक हुनुपर्ने आसयको अभिव्यक्ति दिए।
अध्यक्ष मण्डलका संयोजक यादवले मधेशको मुक्ति र मधेशी जनताको अधिकार प्राप्तिका लागि मधेश केन्द्रित सबै दल एक हुनुपर्ने मत राखे।
नेता महतोले मलेठ घटनाका सहिदहरुले मधेश केन्द्रित ७ पार्टीलाई एक हुन म्यान्डेट दिएपनि एउटा पार्टी अहिले पनि बाहिर रहेको भन्दै राज्यसँग लड्न पार्टी एक हुनुपर्ने आवश्यकता औंल्याए।
‘अधिकारका लागि हामीले रगत बगाउनुपर्छ भन्यौं। मलेठका ५ जनाले ज्यान दिए’, उनले भने, ‘तर हामीले त्यसबेला गरेको वाचा पुरा भयो/भएन, कठोर समिक्षा गर्नुपर्ने बेला आएको छ।'
'७ पार्टी एक भएर राज्यसँग लड्ने वाचा किन पुरा भएन?' भन्दै उनले प्रश्न गरे।
अर्का नेता सरतसिंह भण्डारीले रेशम चौधरीलाई आजीवन कारावासको सजाय हुनु मलेठ घटनाकै पुनारावृत्ति भएको भन्दै पार्टी एक बनाएर सरकारको घमण्ड र अहंकारलाई तोडनुपर्ने धारणा व्यक्त गरे।
यसैगरी, राजकिशोर यादव र अनिल झाले पनि पाएको अधिकार सुनिश्चित गर्न र थप उपलब्धिका लागि पनि मधेश केन्द्रित दलहरु एक हुनैपर्नेमा जाेड दिए।
मलेठमा सहिद विद्यालय : मुख्यमन्त्री
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मलेठमा सहिद विद्यालय स्थापना गर्ने घोषणा गरे। सप्तरीको भारदह र पर्षाको विरगन्जमा सहिद स्मृति प्रतिष्ठान स्थापनाका लागि सरकारले ७५/७५ लाख रुपैयाँ छुट्याएको जानकारी दिँदै उनले आगामी कार्यक्रममा सहिद विद्यालय स्थापनाका लागि सरकारले काम गर्ने प्रतिबद्धता जाहेर गरे।
प्रदेश सरकारले विकास र समाज रुपान्तरणको कामलाई सँगसँगै अगाडि बढाइरहेको भन्दै राउतले स्थानीय तहमा हाल भइरहेको भद्रगोलको अवस्थालाई पनि चाँडै नियन्त्रण गरिने दाबी गरे। शुसासन विधेयक प्रदेश संसदमा पेस भएको र त्यसले अहिलेको भद्रगोलको अवस्थालाई अन्त्य गर्ने उनको दाबी छ।
प्रदेश २ महिलाको अधिकार स्थापित गर्ने र अवसर दिने सवालमा मुलुकमै नमूना हुने भन्दै उनले राज्यका प्रहरी, प्रशासन, लगायत हरेक रोजगारी र अवसरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिने बताए।
संघीय सरकारले सिडिओमार्फत समानन्तर सरकार चलाउन खोजेकोमा राउतले आक्रोस व्यक्त गरे। ‘यो कुरा अन्य प्रदेशमा लागू होला’, उनले थपे, ‘प्रदेश २ मा स्विकार हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।