दाङ- रोल्पामा जनप्रतिनिधि चढ्ने सवारीसाधन जलाएको भोलिपल्ट (बिहीबार) त्रिवेणी गाउँपालिकाको डोजरमा अज्ञात समूहले आगजनी गरेको छ।
त्रिवेणी गाउँपालिकाको रा१क ७१२ नम्बरको जेसिभीको बायाँ भागको टायर जलाइएको छ भने फिउल ट्यांकमा क्षति पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ मा पर्ने ह्याङ सडकखण्ड सफा गर्न लगिएको डोजरमा आगजनी भएको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए।
गाउँपालिका केन्द्र जुगार–करेटी जोड्ने सडकको खाल्डाखुल्डी पुर्न गएको जेसिभीको ठूलो टायर बिग्रिएकाले जंगल क्षेत्रमा रोकिएको थियो।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जनाकारी दिए।
मंगलबार राति गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुुर खत्रीले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको थियो भने त्रिवेणी गाउँपालिकाको गाडी पनि तोडफोड भएको थियो।
आगजनीको हालसम्म कसैले जिम्मेवारी लिएको छैन। तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जलाएको आशंका प्रहरीले गरेको छ।
यसैबीच, रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेको छ। जुगारमा रहेको कार्यालयको पर्खाल नजिक बिहीबार कालो प्लाष्टिकको झोलामा दुईवटा बम फेला परेको इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईंले जानकारी दिए।
लगातार तोडफोड र आगजनीको घटना हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।