काठमाडौं- संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ मा शुक्रबारको दिन त्यहाँको अल नासर लेजरल्यान्डमा कन्सर्ट आयोजना गरिने छ।
अरब जगतको यो व्यस्त व्यापारिक केन्द्रमा ब्यान्ड दोश्रोपटक पुग्न लागेको हो। यसभन्दा पहिले मुलुकले कठिन परिस्थिति बेहोरिरहेको क्षणमा पूर्व निर्धारित कार्यक्रमको बाध्यताले नेपथ्य त्यहाँ पुग्नु परेको थियो।
भुइँचालो लगत्तै तय भएको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रुपमा लिएको थियो। त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरिदिएको थियो।
‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पुरै जोस र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’
मुलुकभित्र अवसरको अभावले गर्दा देसभरिका तन्नेरीहरु लामो समयदेखि खाडीको तातो मरुभूमीमा परिश्रम गरेर कमाउन बाध्य छन्। खाडी राष्ट्रहरु मध्ये साउदीअरब र कतारपछिको उल्लेख्य नेपाली कामदार संख्या संयुक्त अरब इमिरेट्समै छ।
घर परिवारबाट टाढा रहेका उनीहरु त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन्। रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्वपूर्ण योगदान दिने ती तन्नेरीहरुका सामु ब्यान्डलाई पूरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको योजना बल्ल पूरा हुन लागेकामा गुरुङ सन्तुष्टि व्यक्त गर्छन्।
‘यसअघिको कन्सर्ट शोकको क्षणमा आयोजित भएता पनि झण्डै दुइ हजार दर्शकको उपस्थितीले हौस्याएको थियो,’ अमृत भन्छन्, ‘त्यतिबेलै हामीले नयाँ रेकर्डिङ भएको गीत ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि त्यहीँ खिचेका थियौं।’
दुबईको यसै स्थलमा कन्सर्टको बेला खिचिएको त्यो गीत नेपथ्यको आधिकारिक म्यूजिक भिडियोका रुपमा युट्युबमा उपलब्ध छ।
‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्लोपटक जाँदा पाइएको आत्मीयताले नै यसपाला दुबईलाई हामीले फेरि प्राथमिकतामा राखेका हौं।’
यसअघि पनि नेपथ्यको कन्सर्ट दुबईको यसै अल नासेर लिजर ल्याण्डमै आयोजित थियो। यसपाला निर्धारित दिन अर्थात् शुक्रबार बेलुकी ठीक साढे चार बजेदेखि कन्सर्ट सुरुहुनेछ। दुबईमै बसोबास गर्दैआएका तन्नेरीहरुको जमातले आयोजना गरेको यो कन्सर्टमा टिकटदर भने स्थानीय मुद्रा अनुसार ५० र १०० दिराम राखिएको छ।
‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ आयोजक मोहन लिम्बु भन्छन्, ‘अघिल्लोपटक जस्तै उही आयोजना स्थलमा उत्तिकै स्तरिय प्रकाश तथा साउण्ड सिस्टमको प्रवन्ध मिलाएका छौं।’
कार्यक्रममा सँधैजस्तै दुबईमा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।