काठमाडाैं- केही दिनकाे अन्तरमा दिवंगत भएका दुई प्रभावशाली नेताकाे स्मृतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर श्रदाञ्जली सभा गर्दैछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमाेहन अधिकारीलाई श्रद्धाञ्जली दिन संयुक्त रुपमा सभा गर्न लागिएकाे नेकपाले जनाएकाे छ।
ताप्लेजुङकाे फुङलिङ नगरपालिका-१०, दारेभिरमा फागुन १५ गते भएकाे हेलिकाेप्टर दुर्घटनामा परी नेकपा नेता रवीन्द्र अधिकारीकाे निधन भएकाे थियाे। तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएकाे मन्त्री अधिकारीसहितको ७ जनाकाे टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो। उनकाे गत फागुन २१ गते ७ दिनमा काजक्रिया सम्पन्न गरिसकिएकाे छ।
हेलिकाेप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरे गरी सबै ७ जनाको निधन भएको थियाे।
यता गएकाे शनिबार राति ९:३५ मा नेकपाका अर्का नेता भरतमाेहन अधिकारीको निधन भएकाे थियाे। ह्याम्स अस्पतालमा गत माघ २४ गतेदेखि भर्ना भएका अधिकारीको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।
दुबै नेताकाे स्मृति तथा सम्मानमा आज जिल्ला तथा प्रदेशमा श्रद्धाञ्जली सभा गर्न लागिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।