काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले मुलुकको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानमा नजुटे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्नसक्ने तर्फ पनि सचेत गराए।
बुधबार काठमाडौंमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयहरुले पनि मुलुकको समृद्धिको लागि आवश्यक जनशक्तिको निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।
नेता गौतमले मन्त्री अधिकारीको निधनबाट मुलुकले अपुरणीय क्षति व्यहोरेको उल्लेख गर्दै उनका अधुरा सपना पूरा गर्ने काममा लाग्न पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा अनेरास्ववियूले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको थियो। अनेस्ववियूकी अध्यक्ष नविना लामाले संगठनका पूर्व अध्यक्षसमेत रहेका स्वर्गीय अधिकारीको नाममा अक्षयकोष खडा गर्न १ लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।