भैरहवा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको बताएका छन्। उनले केही कर्मचारी, केही व्यापारी र केही ठूला नेता मिलेर ब्रम्हलुट गरेको आरोप लगाएका छन्। थापाले देश ब्रम्हलुटमा परेको भन्दै चिन्ता व्यक्त गरे।
उनले एनसेलको कर छलीको काण्ड, ३८ क्विन्टल सुन तस्करी, बाइडबडी विमान खरिद प्रकरण जस्ता कारणले देशमा लुटतन्त्र चलेको दाबी गर्न सकिने जिकिर गरे। 'नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशलाई टुक्र्याउने कुरा अहिलेसम्म उठेको थिएन, १२ वर्षको गलत अभ्यासका कारण देश टुक्रयाउन पर्छ भनेर एउटा समूह देखियो', उनले भने, 'समयमै विखण्डनकारी तत्वलाई निस्तेज नगर्ने हो भने भविष्यमा राष्ट्रिय सुरक्षामा खतरा हुनसक्छ।'
राप्रपाले फागुन १५ देखि ताप्लेजुङबाट सुरु भएको 'मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा'का क्रममा बुधबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै थापाले भने, 'देश टुक्र्याउने आवाज उठाउने र मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भनेर नारा लगाउने समूहको गतिविधिलाई राज्य संयन्त्र र प्रशासनले मौन भएर बस्दा प्रत्येक राष्ट्रवादी नेपाली जनता चिन्तित भएका छन्।'
उनले मधेशका जनतामा प्रवल राष्ट्रवादी भावना रहेकाे बताउँदै सीमा नाकामा बसेका कारण मधेशी जनताले समस्या भोग्नुपरेको बताए। 'तराई मधेशमा बस्ने नेपाली जनताहरु बिना वर्दीका सेना हुन्', उनकाे भनाइ थियाे।
हिन्दु राष्ट्रको पहिचानको समाप्ति र राजतन्त्रलाई पाखा लगाइए पनि जनताले परिवर्तनको अनुभुति गर्न नपाएको पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले बताए। भने, 'बेरोजगारी समस्या विकराल छ, मुलुकबाट ४० लाख युवाहरु मलेसियाको जंगल र अरबको मरुभुमिमा रगत र पसिना बगाउन बाध्य छन्।'
मुलुकको आम्दानीको ४० प्रतिशत नेपालबाट विदेश गएका युवाहरुको रगत र पसिनाबाट आएको भन्दै थापाले युवाहरुलाई आन्दोलन गर्न उक्साउने व्यक्तिहरु रातारात अरबपति भएको दाबी गरे।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले सबै धर्मको सम्मानसहित हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्ने मत राखे। उनले सडकबाट दबाब सिर्जना गर्नसके राप्रपाले उठाएको माग पुरा हुने दाबी गरे। पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको उनकाे भनाइ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।