काठमाडौं- यस वर्षको प्रि–मनसुन सुरु भएको छ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन सुरु भएको हो।
तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ।
अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम प्रभावित भइरहन्छ। वर्षा छोटो समय हुने गर्छ र उपत्यकामै पनि एक ठाउँमा वर्षा हुने र अर्काे ठाउँमा नहुने हुन्छ।
पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन। सो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ।
नयाँ प्रणाली विकास नभइसकेकाले पहाडी भेगबाहेकका अन्य क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।