काठमाडाैं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्र विशेष तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद लक्ष्मी परियारले पेसागत स्थायित्वको लागि राहत शिक्षक र बाल विकास शिक्षकहरुले फागुन २० गते राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै उनले तत्काल माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद वसन्त कुमार नेम्वाङले राष्ट्रिय प्राथमिकता प्राप्त ठूला योजनालाई तीब्र विकास गर्नका लागि आवश्यक कानुन निर्माण गर्न माग गरे।
नेकपा सांसद विरोध खतिवडाले वार्तामार्फत राहत शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिरबाट आएकाहरुबाट चकलेट, विस्कुट, घडी, ल्यापटपलगायत जफत हुने गरेको भन्दै उनले सोबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्न माग गरे।
उनले भने, 'बाहिरबाट आएकाहरुले सामान्य कोसेलीहरु चकलेट, विस्कुट ,रक्सी, घडी, ल्यापटप ल्याएको जफत हुन्छ, तर त्यसको निस्सा प्रमाण केही दिइँदैन, अनि त्यो कहाँ जान्छ त्यो पनि थाहा छैन। लिलाम गरेको सुनेको छैन। यो लखनउ लुट कहिलेसम्म माननीयज्यू?'
सांसद विष्णु शर्माले सीमा क्षेत्रको दशगजाभित्र घाँस काट्न जाँदा सीमा क्षेत्रका बासिन्दाले कर तिर्नुपर्ने बाध्यता भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद सत्य पहाडीले हिमाली र पहाडी जिल्लामा अझै पनि बैंकका शाखा कार्यालय स्थापना हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद संञ्जय कुमार गौतमले प्रदेश ५ का सांसद भुमेश्वर थापाको बर्दिया मैनापखरस्थित घरमा 'सिआइडीका मान्छे हौं' भन्दै पसेर खोजतलासी गर्ने काम भएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'राज्य यसैगरी चल्छ सभामुख महाेदय? आज एउटा सांसद सुरक्षित छैन। एउटा व्यापारी छैन, एउटा शिक्षक छैन। एउटा नेता छैन। आज सुरक्षाको जिम्मा लिएको निकाय कहाँ छ सभामुख मोहदय?
सांसद ज्ञान कुमारी छन्तेलले स्थानीय साझेदारी पुर्वाधार कार्यक्रममा प्रत्यक्ष सांसदलाई मात्रै पूर्ण अधिकार दिई समानुपातिकलाई विभेद गरिएको भन्दै समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए। 'के त्यसको बाउको सम्पत्ति र आमाको दाइजो लगिराखेको हाे त्यहाँ?', उनकाे प्रश्न थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।