जनकपुर- मैथिली चित्रकलालाई अझ प्रभावकारी बनाउन स्थानीय स्तरदेखि नै संरक्षण र सम्वर्द्धन गर्न गराउन जनकपुरमा आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन्।
साहित्यकार तथा कलाकार विजय दत्तमणिले वरिष्ठदेखि कनिष्ठ कलाकारहरुको मिलेमताेमा मिथिला चित्रकलालाई डलरमा किनबेच भइरहेकोमा गुनासो गरे।
कलाकार विजयमणिले स्थानीय रुपमै यसको बजारीकरण गर्न सुझाब दिँदै उनले भने, 'विदेशीको लागि र डलर कमाउन मिथिला चित्रकला कोरिएमा यसकाे भविष्य समाप्त हुनेछ।'
जनकपुरमा जारी जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको चौथो दिन जारी बहसमा मिथिला चित्रकला सिर्जनाको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता माथि प्रकाश पार्दै उनले सकारात्मक प्रतिस्पर्धाको माध्यमबाट व्यस्थापन गर्नुपर्ने समयको माग रहेको बताए।
बहसमा सहभागी कलाकार सुनैना ठाकुरले महिलाहरुलाई यस क्षेत्रमा निकै चुनौतीको सामना गर्नुपरेको कथा सुनाइन्। 'मिथिला चित्रकलासम्बन्धी मिथिला क्षेत्रमा न विद्यालय छ, न सिक्ने ठाउँ छ, कसरी प्रवर्द्धन गर्ने?', ठाकुरले प्रश्न गरिन्।
चित्रकलाकर्मी ठाकुरले मिथिला चित्रकलाको सिर्जना र बाजारीकरणसम्मको जिम्मा अब सरकार र समाज दुबैले लिनुपर्ने आवश्यकता औंल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।