काठमाडाैं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकाे आजकाे बैठक स्थगित भएकाे छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमाेहन अधिकारीकाे निधनमा शाेक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएकाे संसद सचिवालयका महासचिव मनाेहर प्रसाद भट्टराईले बताए।
बैठकमा शाेक प्रस्ताव पारित गर्दै नेता अधिकारीकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै १ मिनेट माैन धारणसमेत गरिएकाे थियाे।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका अधिकारीकाे गत शनिबार उपचारकाे क्रममा काठमाडाैंकाे ह्याम्स अस्पतालमा निधन भएकाे थियाे।
तत्कालीन नेकपा (एमाले)का तर्फबाट उनी २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६३ सालकाे पुनर्स्थापित प्रतिनिधिसभामा माेरङ जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालकाे संविधानसभामा समानुपातिक सदस्य रहिसकेका छन्।
उपप्रधान तथा पटक-पटक अर्थमन्त्रीसहितका विभिन्न मन्त्रालयकाे जिम्मेवारीमा रहेका अधिकारीले २०४६ सालमा प्रजातन्त्र प्राप्तिपश्चात् गठन भएकाे संविधान सुझाव आयाेगकाे सदस्यकाे रुपमा भूमिका निभाएका थिए। २०६२/०६३ काे जनआन्दाेलनमा समेत उनकाे भूमिका महत्वपूर्ण मानिन्छ।
उनले २०५१ सालमा मनमाेहन अधिकारीकाे ९ महिने अल्पमतकाे सरकारमा अर्थमन्त्रीकाे जिम्मेवारीमा रहँदै वृद्धभत्ताकाे थालनी गराएका थिए।
संसदकाे आगामि बैठक फागुन २२ गते बुधबार दिउँसाे १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।