भैरहवा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन १५ गते देखि सुरु गरेको मेची-महाकाली स्वाभिमान यात्रा २२ गते भैरहवा पुग्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी स्वाभिमान यात्रा बारे जानकारी गराएको हो।
सनातन हिन्दूराष्ट्र पुर्नस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, पर्याप्त रोजगारी सिर्जनाका लागि दबाब, महिला विरुद्धको हिंसा अन्त्य र जातीय विभेद तथा छुवाछुतको अन्त्य गर्न भन्दै पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेको जनाएको छ।
ताप्लेजुङबाट सुरु भएको यात्रा २२ गते भैरहवा आउने राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष तथा मूल आयोजक समिति संयोजक अजय कुमार गुप्ताले बताए।
भैरहवाको मिलनचोकमा दिउँसो १ बजे हुने आमसभामा पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा, वरिष्ठ नेता दिपक बोहरा, निरञ्जन थापा, सांसद राजेन्द्र लिङदेन सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने गुप्ताले जानकारी दिए। भैरहवामा आमसभामा समापन भए पश्चात बुद्ध जन्मस्थल लुम्बिनीमा समेत कोणसभा हुने उनले बताए।
रथयात्रामा सांस्कृतिक झाँकीसहित ३५ वटा बाहन र ३ सय ५० नेता कार्यकर्ता सहभागि रहेको राप्रपा रुपन्देहीका प्रवक्ता एवं मञ्च व्यवस्थापन समिति संयोजक रवि कुमार रौनियारले बताए।
भैरहवामा हुने आमसभा व्यवस्थापन गर्न १ सय १ जनाको व्यवस्थापन टोली निर्माण गरिएको रौनियारले जानकारी दिए।
यात्रा देशका विभिन्न भाग हुँदै फागुन ३० गते काठमाडौं पुगी समापन हुने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।