भैरहवा– चैतमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सोमबारबाट भैरहवामा प्रदेशस्तरीय ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौंमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल सुरु भएको हो। सोमबार भएको पहिलो नवलपरासीले बर्दियालाई ८ विकेटले पराजित गरेको छ।
सिद्धार्थ रंगशालामा भएको खेलमा जितका लागि बर्दियाबाट पाएको १०३ रनको लक्ष्य नवलपरासीले १३.३ ओभरमा २ विकेट क्षतिमा पार गर्यो। जसमा सद्दामअली अन्सारीले नटआउट ३२, विनोद कुर्मीले २८ तथा जितेन्द्र साहनीले नटआउट २३ रन बनाए। बलिङमा बर्दियाका समिर आचार्यले २ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले २० ओभरको खेलमा ९ विकेट गुमाई १०२ रन बनाएको थियो । जसमा समिर आचार्यले १८, हर्षल भण्डारीले १७ र प्रकाश न्यौपानेले १६ रन बनाए। बर्दियालाई सामान्य स्कोरमै समेट्न खेलका म्यान अफ दी म्याच समेत रहेका नवलपरासीका एकलाख अहम्मदले ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिए। यस्तै, दिलिप कुर्मीले २ विकेट लिए। मंगलबार पहिलो खेल रुपन्देही र रोल्पा तथा दोस्रो खेल बाँके र अर्घाखाँचीबीच हुने छ।
१२ जिल्ला रहेको प्रदेशमा १० जिल्लाका खेलाडी मात्रै सहभागी छन्। छनोट खेलमा प्यूठान र रुकुमले भाग लिएका छैनन्। आठौंका लागि उत्कृष्ट १४ क्रिकेट खेलाडी छनोट गरी प्रदेश पाँचको एउटा टिम बनाइने छ। नकआउट चरणमा खेलाइने खेल फागुन २५ गतेसम्म चल्ने छ। छनोट खेलको सोमबार एक कार्यक्रम बीच प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।