नापोली- 'इटालियन सिरि ए'को शीर्ष स्थानको युभेन्ट्सले निरन्तर जित निकालेको छ। युभेन्ट्सले आइतबार राति भएको खेलमा दोस्रो स्थानको नापोलीमाथि २-१ को जित निकालेको हो।
युभेन्ट्सका लागि पजानिकले २८ र केनले ३९ मिनेटमा गोल गरेका थिए। यस्तै नापोलीका लागि कालेन्जोनले ६१ मिनेटमा गोल फर्काएका थिए।
खेलमा दुवै टिम १०-१० खेलाडीमा सीमित बनेका थिए। नापोलीका गोलकिपर मेरिटले २५ मिनेटमै सिधा रातो कार्ड खाएका थिए। त्यसपछि १० खेलाडीमा सीमित हुँदा नापोलीमाथि खेल अवधिभर दबाव पर्यो।
युभेन्ट्सका लागि पहिलो गोल गरेका पजानिक दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा दोस्रो पहेँलो कार्ड पाउदा मैदान छाड्न बाध्य भएका थिए।
खेलमा नापोलीका लेरोन्जो इन्साइनले पेनाल्टी मिस गर्दा खेललाई बराबरीमा ल्याउने अवसर खेर फालेका थिए।
दोस्रो स्थानको नापोलीसँग जित हात पारेसँगै युभेन्ट्सले १६ अंकको अग्रता लिएको छ। जसले उसले लगातार आठौं उपाधि जित्ने सम्भावना बलियो बनेको छ।
लिगमा शीर्ष स्थानको युभेन्ट्सले २६ खेलबाट ७२ अंक छ। नापोलीले ५६ अंक बटुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।