लिभरपुल- इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुललाई एभर्टनले बराबरीमा रोकेको छ। लिभरपुलले आइतबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।
खेलमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लिभरपुलका मोहमद सलाह र मिचेल केनको प्रहारलाई बिफल पारेका थिए।
लिगको अर्को खेलमा चेल्सीले फुलह्याममाथि २-१ को जित निकालेको छ। चेल्सीका लागि गोन्जालो हिग्युइनले २० मिनेट र जोर्गिन्होले ३१ मिनेटमा गोल गरेका थिए।
लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ खेलबाट ७१ अंक छ। दोस्रो स्थानको लिभरपुलको ७० अंक छ भने टोटनह्याम ६१ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५८, पाँचौ स्थानको आर्सनलको ५७ र छैटौं स्थानको चेल्सीको ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।