काठमाडौं- भारत–पाकिस्तानबीच बढ्दो तनावलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नेपालले बताएको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपालको यस्तो भनाइ आएको हो।
नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो। भारत–पाकिस्तानबीच बढ्दो तनावले ध्यानाकर्षण भएको नेपालले जनाएको छ।
गत फागुन २ गते भारतको काश्मिरस्थित पुलवामा जिल्लामा भएको आतंकाकारी आत्मघाती हमलामा परी करिब ४० भारतीय अर्ध सैनिकको मृत्यु भएको थियो। आतंककारी संगठन जैश–ए–मोहमदले हमला आफूले गरेको स्वीकार गरेको छ।
नेपालले उक्त हमलाको विरोध गरिसकेको प्रेस विज्ञप्तिमा जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हमलामा परी ४० सैन्य जवानको हत्या भएको जानकारी आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए।
नेपाल सरकारले दुई देशबीच बढ्दै गएको तनावपूर्ण अवस्थालाई शान्तिपूर्ण हिसाबले समाधान गर्नुपर्ने बताएको छ। हमलाको जवाफ दिने बताएको भारतले मंगलबार पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले आक्रमण गरेको थियो। जैश–ए–महोमदको इलाका क्षेत्र रहेको बालाकोट आक्रमणमा परी करिब ३ सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाए पनि उक्त आक्रमणमा परी कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको छ।
आफ्नो सीमाक्षेत्रमा भारतीय वायुसेना प्रवेश गरेको र त्यसको जवाफी कारबाहीका लागि पाकिस्तानी सेनाले आक्रमण गर्दा भारतीय वायुसेवा भागेको पाकिस्तानी सेनाको दाबी गरेको छ।
यस्तै, बुधबार पनि दुई देशबीचको तनावले गति लिँदा भारतीय दुई लडाकु विमानलाई पाकिस्तानी सेनाले खसालेको र एक पाइलटलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।