भैरहवा– तरकारी लगायत अन्य अन्नबाली माटोमा मात्र उब्जिन्छ भन्ने आमधारणा छ। तर, नेपालमै माटो बिना खेती गर्न सकिने प्रविधि सुरु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बिष्णुपुराका किसानले माटो बिना नै तरकारीको व्यावसायिक खेती सुरु गरेका छन्।
रुपन्देहीका किसान ईश्वर पौडेलले यो खेती गाउँमा भित्र्याएका हुन्। माटो बिना नै तरकारी फलाएर बेच्ने उनी अहिले निकै व्यस्त छन्।
खेती प्रक्रियाबारे जानकारी दिन उनलाई भ्याइनभ्याइ छ। ‘महोत्सवमा दैनिक सयौंलाई माटो बिनाको तरकारी फलाउने उपाय बताइरहेको छु,’ उनले भने।
विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका पौडेलले बुटवल मण्डपमा जारी कृषि महोत्सवमा तरकारी प्रदर्शनमा समेत राखेका छन्।

वैदेशिक रोजगारीका लागि ओमन पुगेर फर्किएपछि उनले यही प्रविधिबाट व्यावसायिक खेती सुुरु गरेका हुन्। पौडेल दश वर्ष ओमन बसेका थिए।
त्यहाँको पाँचतारे होटलमा काम गर्दा उनले (स्वाइललेस) तरकारी खेती देखे। जुन तरकारी उनी काम गर्ने होटलमा खपत हुन्थ्यो। माटोको प्रयोगबिना नै विभिन्न ठाउँमा तरकारी खेती गरेको देखेपछि उनमा कौतुहलता पलायो।
त्यसपछि त्यस विषयमा पौडेलले जानकारी लिए। उनले नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोचका साथ आफू नेपाल आएर हाइड्रोपोलिक प्रविधि अपनाएर तरकारी खेती थालेका बताए।
यसरी गरिन्छ माटोबिनाको खेती
यो प्रविधिमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। जसलाई कोकोपिट पनि भनिन्छ। जटालाई पिसेर धुलो बनाएर गमलामा राखिन्छ। सार्न मिल्ने भएको बिरुवा त्यहीँ रोपिन्छ।
जट्टाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो। त्यो गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्याइन्छ। त्यही पोषकतत्वले नै बाली फस्टाउँछ र फल दिन्छ।

यो खेती गर्न प्लाष्टिकको ठूलो (घरजस्तै) आकारको टनेल बनाइन्छ। जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङ्ग्राभित्र जान सक्दैनन्।
टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व (एमपिके) र पानी पाइपमार्फत प्रत्येक बिरूवामा पुग्छ।
फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम छ। तापक्रम बढ्यो भने आपंmै पङ्खा चल्छ। घट्यो भने पङ्खा आफैं बन्द हुन्छ।
यसरी खेती गर्दा श्रम शक्ति थोरै लाग्ने र पानी धेरै नलाग्ने भएकाले आफू यस प्रविधितर्फ आर्कषित भएको पौडेलले बताए।
‘पहिले त मलाई पनि अचम्म लाग्यो,’ पौडेलले अनुभव सुनाए, ‘पछि बुझ्दै गएपछि गर्मी ठाउँमा पनि खेती गर्न सकिने सम्भावना देखेँ। अनि घरमा आएर यो खेती सुरू गरेँ।’

उनका अनुसार यो इजरायली प्रविधि हो।
यस किसिमले फलेको फल भने माटोमा उत्पादन भएजस्तो ठूलो आकारमा हुँदैन। साढे २ सय ग्रामसम्मको फल उत्पादन हुन्छ। श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि अधिकृत रामबहादुर खत्री बताउछँन्।
कम जग्गामा पनि हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती गर्न सकिने वरिष्ठ कृषि अधिकृत खत्रीको सुझाव छ।
‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ,’ उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ। हाइड्रोपोलिक प्रविधि अरब राष्ट्रमा बढी गर्मी हुने र माटो कम भएका देशहरुमा प्रचलित छ,’ खत्रीले भने।
नेपालमा पनि यो प्रविधि अपनाउँदा कृषकलाई राम्रो हुन्छ।
तिलोत्तमाको विष्णुपुरामा पौडेलले यही प्रविधिको फर्ममा एक करोड लगानी गरेका छन्। साझेदारीमा सुरु भएको फर्मले पहिलो सिजनको उत्पादन दिइसकेको छ। एक बिघा क्षेत्रफलमा गरिएको खेतीबाट काँक्रो, गोलभेंडा, करेला, साग लगायतका तरकारी उत्पादन भए।
बुटवल मण्डपमा जस्तै उनले विष्णपुरामा पनि दैनिक ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन्। उनको फर्म अवलोकनका लागि थुप्रै किसान आउने गरेका छन्।

६ महिनाअघि सुरु गरिएको फर्मलाई बिस्तार गर्ने उनको योजना छ। उनको समूहले वार्षिक ८० हजार तिर्ने गरी जग्गा भाडामा लिएको छ।
पौडेलसहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन्। पहिलो चरणमा ३ जना मिलेर झण्डै एक विघा जग्गामा व्यावसायिक हाइड्रोपोलिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरेका हुन्।
यस प्रविधिमा उत्पादन गरिएको तरकारी पूर्ण अर्गानिक भएको उनीहरूको दाबी छ।
‘विदेशी पर्यटक आउने स्टार होटलहरूले सलादका लागि अर्गानिक उत्पादन खोज्छन्। त्यसैले हामी अर्गानिक उत्पादन तर्फ लागिरहेका छौँ,’ पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।