डोटी- जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट १० लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत साउन महिनादेखि पुस मसान्तसम्म १० लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको राजश्व शाखाले जनाएको छ।
जिल्लामा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनले नियमविपरीत सवारीसाधन चलाएको भन्दै दिपायल ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ। जिल्लामा बिना चालक अनुमतिपत्र (लाइसेन्स) सवारीसाधन चलाउनेको सङ्ख्या पनि बढेको र सरकारी सवारीसाधनले बढी नियम उल्लङ्घन गरेकाले आफूहरुले कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए।
उनले भने, 'सरकारी मोटरसाइकलहरु बढी दुरुपयोग हुने गरेको र नियम पनि तिनैले बढी उल्लङ्घन गरेकाले हामी कडारूपमा प्रस्तुत भएका हौँ।'
जिल्लामा सवारी चालकको लापरबाहीका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको स्थानीयवासीको आरोप छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लाको बुडर, सानागाउँ, सिलगढीमा पोष्ट नै खडा गरी सवारी जाँच गरिरहेको छ।
त्यस्तै ट्राफिक प्रहरीले बिना लाइसेन्स सवारी चलाउन दिने सवारी धनीलाई समेत कारबाही गर्न थालेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।