भैरहवा- कुखुराले अण्डा कोरेलेपछि अण्डाबाट चल्ला निस्किन्छ भन्ने सबैलाई थाहा छ। ह्याचरी प्रविधिमा अण्डाबाट चल्ला उत्पादन हुनु पनि अनौठो होइन। तर भैरहवामा एक विद्यार्थीले आफ्नै प्रयासमा यस्तै प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन्।
केपिएम एजुकेशन प्रालिको १० कक्षामा अध्यनरत १६ वर्षीय ऋषिकुमार गुप्ताको यो खुबीको अहिले प्रशंसा भइरहेको छ।
बिदा मनाउन भारतको गोरखपुरस्थित मामा घर जाँदा मामाको साथीको कुखुरा उद्योगतर्फ आकर्षित उनी त्यहीँबाट प्रभावित भए। जिज्ञासु ऋषिले दैनिक लाखौं चल्ला उत्पादन हुने ह्याचरीको अवलोकन गरे।

त्यसपश्चात् आफ्नो ज्ञान र क्षमताले आफैले कुखुराबिनै अण्डाबाट चल्ला निकाल्ने खोजमा लागेको उनी सुनाउँछन्। पटकपटक प्रयास गरे तर सफलता हात लागेन। खोजमा लागेको चार महिना भइसकेको थियो। उनले हार मानेनन्। छैटौं पटकको प्रयासमा नेपालमै पहिलो पटक विद्युतीय सहायताले अण्डाबाट चल्ला निकाल्न उनी सफल भए।
यसरी निकाले चल्ला
उनले चल्ला निकाल्नका लागि जम्मा एक हजार रुपैयाँ लगानी गरे। स्याउको डब्बामा चारैतिर थर्माकोल लगाएर दुई भागमा पार्टेसन गरेका छन्। त्यसको एकतिर बजारमा पाइने केही अण्डा राखे र अर्कातिर अटोमेटिक तापक्रम कन्ट्रोलर, फ्लोरोसेन्ट बल्ब, कुलिङ पङ्खा, विद्युतीय एडप्टर लगायतको सहयोगमा काम सुरु गरे।
पहिलो अभ्यासमा उनले बजारमा उपलब्ध अण्डा राखेर प्रयास गर्दा सफल भएनन्। अण्डा हेर्दा जस्ताको त्यस्तै हुन्थ्यो। बजारको अण्डामा प्रजनन क्षमता नै नभएका कारण उनी पहिलो पटकको प्रयासमा असफल भए। दोस्रो पटकको प्रयासमा उनले लोकल कुखुराको अण्डा राखेर तीन पटकसम्म प्रयास गरे तर पनि सफलता हासिल गर्न सकेनन्।
'पटकपटक प्रयासमा सफलता हात नलागे पनि मैले हार मानिन,' उनले भने, 'अन्ततः छैटौं पटकको प्रयासमा सफल भएँ।'

उनले राखेका ५ वटा अण्डाबाट ५ वटै चल्ला निस्किए। उनका अनुसार अण्डाबाट निस्किएका चल्ला निरोगी छन्। चल्लाले जमिनमा दाना खाएर हिडेको देख्दा उनी हर्षित छन्।
उनका अनुसार अण्डाबाट चल्ला उत्पादनका लागि ३७ दशमलव ५ देखि ३७ दशमलव ६ विद्युतिय तापक्रममा कुखुराको अण्डा राखे। १८ दिनसम्म उनले आद्रता ६० देखि ७० प्रतिशतसम्म कायम गरे। १९ औँ दिन देखि २२ दिन सम्म ८० देखि ८५ सम्म आद्रता पुर्याए। यी प्रक्रिया पुर्याएर राखिएका अण्डालाई दिनमा दुई पटक पल्टाउनु परेको उनी बताउँछन्।

उनको यो काममा विज्ञान शिक्षक अमृत ज्ञवाली, रामप्रसाद कोहोर, व्यावसायिक शिक्षा पढाउने शिक्षक अनिल गोतानेका साथै फुपाजु डा बद्रीकुमार गुप्ताको निकै सहयोग रहेको उनी बताउँछन्।
उनले विद्युतबाट चल्ला उत्पादनको सफलतापछि अब एउटै बिरुवाबाट तल आलु र माथि टमाटर फलाउने खोजमा लाग्ने बताएका छन्। 'आफ्ना शिक्षकहरुसँग सल्लाह लिइसकेको छु,' उनले भने, 'प्रयास गरिहेरौं। कति सफल भइन्छ।'
अध्यननबाहेक प्रविधिको प्रयोग गर्दै विभिन्न नयाँ खोज गर्दै आएका उनलाई नयाँ काम गर्नमा रुचि रहेको उनका फुपाजु डा. बद्री गुप्ताले बताए।
ठूल्ठुला उपकरण र योजनामा विद्युतीय प्रक्रियाबाट अण्डाबाट कुखुराबिनै चल्ला उत्पादन हुने प्रविधि भने नयाँ होइन। तर एक किशोरको प्रयास सफल भएकोमा उनका साथीहरु पनि खुसी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।