२०५८ सालको चिसो पुस। १० गते बिहान। परिवारका सबै सदस्य खाना खाने तयारीमा थिए। एकाएक सैनिकहरूले घर घेर्न थाले। अचानक शान्त वातावरणमा त्रास फैलियो। सैनिकले सबैलाई धरपकड गर्दै घरभित्र हुले। दुई घन्टासम्म यातना दिए।
त्यसपछि घरभित्र पराल राखिदिए।
सबै डरले काँपिरहेका थिए। जबकि, बाँच्ने/मर्ने कुनै निश्चित थिएन।
बिस्तारै एकएक बहाना गरेर परिवारका सबै जना बाहिर निस्किए। उनीहरू निस्किएको केही समयमै घरभित्र बम पड्कियो। आँखैअघि त्यो घर जलेर नष्ट भयो।
भर्खर कक्षा ६ मा पढ्दै गरेको १२ वर्षीय बालकको छातीमा गढेको घाउ सानो थिएन। देशले भोगिरहेको सशस्त्र युद्धले एउटा बालकको सपना मारेको थियो। सबथोक बदलिदिएको थियो।
बालापन, घरपरिवार, पढाइ यी सबैसबै गुमाउनुपरेको त्यस बालकले त्यसपछि के गर्यो?
‘युद्धसँग साक्षात्कार गर्यो,’ जवाफमा खगेन्द्र गिरी बोले।
जो त्यही जनयुद्धको एउटा पीडित पात्र थिए।
OOO
‘डायरी अफ अ योङ गर्ल’को अनुवाद गर्दा उनी पटकपटक छटपटाए। त्यतिबेला उनी आफ्नो बाल्यकालमा फर्किए। १२ वर्षको उमेरमा भोगेको त्रासदी सम्झे। र, सम्झे सन् १९४२ कि १३ वर्षीया किशोरी एन फ्र्यांक। जसले १३ वर्षको उमेरमा डायरी लेखेकी थिइन्– डायरी अफ अ योङ गर्ल। संसारका ६० भन्दा बढी भाषामा अनूदित उक्त पुस्तक संसारभर रुचाइएको छ।
यो पुस्तकको नेपाली अनुवाद बजारमा आइसकेको छ। यसका अनुवादक उनै खगेन्द्र हुन्।
पेसा पत्रकारिता। अध्ययन र अनुवाद रुचिको विषय। उसो त फुटकर अनुवाद गरिरहेका उनले पहिलो पटक डायरी अफ अ योङ गर्ल (एक किशोरीको डायरी) अनुवाद गरे।
बजारमा राम्रो अनुवादकको खडेरी। त्यसमाथि यो युद्ध विषय।
‘कसरी गर्नु भो त चुनौतीको सामना?’ मैले प्रसंग कोट्याएँ।
खगेन्द्र आफूले अनुवाद गरेको पुस्तकको जस लिन पनि चाहँदैनन्। न त कुनै प्रचारको भोक छ। तर, पुस्तकप्रति उनको अथाह प्रेम छ।
उनले गाँठो फुकाइहाले, ‘अघिल्लो साल मंसिरतिर। एकदिन मलाई नारायण दाइले फोन गरेर ‘एउटा राम्रो पुस्तक छ, त्यसको नेपाली अनुवाद गर्छौ?’ भनेर सोध्नुभयो। उहाँलाई नाइँ भन्न सकिँन। गर्छु त भनेँ। तर, सक्छु कि सक्दिनँ दोधारमा थिएँ। प्रकाशक सिकाइ समूह रहेछ। जब पुस्तकको नाम सुनेँ, तब गर्ने साहस जागेर आयो। म पूरै तयार भएँ। मंसिरको अन्तिम साता पुस्तकको अङ्ग्रेजी भर्सन मेरो हातमा आइपुग्यो। पुस पहिलो सातादेखि मैले अनुवाद गर्न सुरु गरेँ।’
संयोगले जुराएको अनुवाद
भन्ने गरिन्छ– अनुवाद गर्नु कठिन काम हो, तर यसबाट जस पाइँदैन।
खगेन्द्र आफूले अनुवाद गरेको पुस्तकको जस लिन पनि चाहँदैनन्। न त कुनै प्रचारको भोक छ। तर, पुस्तकप्रति उनको अथाह प्रेम छ। भन्छन्, 'यो पुस्तक अनुवाद मेरो संयोग हो।'
बाल्यकालमा नजिकबाटै युद्धको त्रासदी भोगेका खगेन्द्रले यस पुस्तकबाट भने विश्वयुद्धलाई नजिकबाट नियाल्न पाए। भन्छन्, ‘युद्धलाई देखेको मान्छेले मात्र युद्ध थाहा पाउँछ जस्तो लाग्दैन। फरक भए पनि एनले र हामीले भोगेको युद्धमा केही समानता छन्।’
'युद्ध भोगिरहेको मान्छेले मृत्युलाई सजिलै पचाउन सक्छ। कतिपल्ट डराउने? हरेकपल्ट त्यही डर नरहन सक्छ,' उनी थप्छन्, 'एउटा यस्तो बिन्दु आउँछ, जहाँ पुगेपछि मर्नै परे पनि केही हुन्न भन्ने लाग्दो रहेछ।’
जब आफू लुक्दै गरेको बेला सेनाले फेला पार्दैछ भन्ने थाहा पाउँदा कस्तो अनुभव होला? आफू यही अनुभवबाट बाँचेको समयलाई प्रस्तुत गर्छन् उनी।
डायरीभित्र बाँचेकी एन
दोस्रो विश्वयुद्धताका, नाजी नश्लवादले सिंगो यहुदी नष्ट गर्न चाहन्थ्यो। त्यतिबेला यहुदीहरूले आफ्नो स्वतन्त्रता पूरापुर गुमाइसकेका थिए। सास फेर्नसमेत बन्देज गरिएको बेला हल्यान्डमा रहेका यहुदीहरूको अवस्था कस्तो थियो? कल्पना गर्दा आङ सिरिंग हुन्छ।
किशोरी एन त्यस समय यहुदी परिवारमा जन्मेकी हुन्।
युद्धको चपेटामा पनि १४ जुन, १९४२ देखि एनले डायरी लेख्न थालिन्। नाजी सेनाबाट बच्नका लागि ५ जुलाई १९४२ मा एन परिवार लुक्न गुप्त भवन जान्छन्। तर, एनले डायरी लेख्न छाडिनन्। २ वर्षभन्दा बढी समय गुप्त भवनमै गुजारेकी एनले भवनभित्रका त्रासदीको भरपूर वर्णन गरिन्।
भवनभित्र बितेका दैनिकी, परिवारमा प्रत्येकको स्वभाव, हर दिन आफूमा आएको परिवर्तन, प्रत्येक क्षण बेहोर्नुपरेको पीडा र प्रेम लगायतका प्रसंग उनको डायरीमा छ।
‘मसँग यही लेख्ने कला छ। म यही डायरीमा बाँच्न चाहन्छु,’ एनले डायरीमा भनेकी छन्।
एनको डायरी १ अगष्ट १९४४ मा अन्त्य भयो। यो डायरी १९४७ मा पहिलो पटक डच भाषामा प्रकाशित भयो।
त्यसपछि आफूले भनेझैं यही डायरीमा बाँचिरहेकी छन् एन। जो भौतिक रुपमा भने १५ वर्षको कलिलै उमेरमा चुँडिन पुगिन्। डायरी लेख्न छाडेका तीन दिनपश्चात् गेस्टापो (नाजी प्रहरी) ले उनीसहित परिवारलाई पक्राउ गर्यो। त्यसपछि परिवारबाट छिन्नभिन्न भएकी एन टाइफसको महामारीमा जुध्न पुगिन्। सन् १९४५ तिर एक श्रम शिविरमा उनको निधन भयो।
भवनभित्र बितेका दैनिकी, परिवारमा प्रत्येकको स्वभाव, हर दिन आफूमा आएको परिवर्तन, प्रत्येक क्षण बेहोर्नुपरेको पीडा र प्रेम लगायतका प्रसंग उनको डायरीमा छ।
विश्वयुद्ध सकियो। विस्तारै सबै कुरा शान्त हुँदै गए। तर, एन अझ शान्त छैनन्। हजारौंको छातीमा एनले भोगेको पीडा गढेको छ। वर्षौंदेखि डायरीभित्र बाँचिरहेकी एक किशोरीले आज हजारौंलाई बाँच्न सिकाइरहेकी छन्।
अजम्बरी प्रेम
खगेन्द्र जोखिमको यात्रामा थिए। किनकि, सांस्कृतिक र ऐतिहासिक रुपमा पनि ठूलो फरक। त्यो बेलाको हल्यान्ड र यो बेलाको हल्यान्ड निकै बद्लिएको थियो। त्यसमाथि नेपालीमा अनुवाद गर्दा मौलिकपना कसरी भित्र्याउने भन्ने समस्या। एनका हर कुरा नेपाली पाठकले बुझ्नेगरी ल्याउनुपर्ने। यी चुनौतीका बाबजुद डेढ महिनामै अनुवाद टुंगियो। तर, एनसँगको प्रेम झन् गाढा भएर गयो खगेन्द्रलाई। ‘साँच्चै मैले त एनलाई आत्मीय रुपमा पाउन थालेछु। कतै न कतै उसँग सम्बन्ध जोडिएको जस्तो भयो, भरखरै भेटेजस्तो,’ अनुभव सुनाए खगेन्द्रले।
विश्वमा राजनीतिक परिवर्तन भइरहेका छन्। समय निकै बद्लिइसकेको छ। ‘यतिबेला एन बाँचेकी भए के लेख्थी होला,’ खगेन्द्र एकाएक भावुक भएर बोल्छन्, 'उसको धारणा के हुन्थ्यो होला। यहुदी जातिले फरक फरक युद्ध भोग्नुपरेको छ। त्यो युद्धलाई कसरी हेर्थी होला?’
उनका मनमा तमाम प्रश्नहरु खेलिरहेका छन्।
OOO
कुराकानीको क्रम सकियो। गुप्त भवनझैं लाग्ने साँघुरो गल्लीको चिया पसलमा थियौं हामी। पिउँदै गरेका चिया पनि सकियो। अन्त्यमा, छुट्ने क्रममा खगेन्द्रले मुस्कुराउँदै भने, ‘कथा सामान्य बनाउनु है।’
युद्धको रापलाई नजिकबाट छिचोलेर आएका र भरखरै युद्धकथा उतारेका उनको हाँसो भने निकै असामान्य थियो। सोचेँ, ‘यदि एन बाँचेकी भए, के उनको हाँसो पनि यस्तै असामान्य हुन्थ्यो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।