भैरहवा– रुपन्देहीको भैरहवामा सञ्चालित रहेको सरकारी कार्यालय सारिएको विरोधमा हस्ताक्षर अभियान थालिएको छ।
सरकारी कार्यालयमा पर्याप्त भवन हुँदाहुँदै राजनैतिक शक्तिको आडमा कार्यालयहरू बुटवल तथा तिलोत्तमा क्षेत्रमा सारिएपछि त्यसको विरोधमा हस्ताक्षर अभियान थालिएको हो।
केही समयअघि निकै तामझामका साथ भैरहवामा स्थापना गरिएका निर्देशनालय थाहै नदिइ सारिएपछि भैरहवाबासीले आक्रोश पोख्दै पुनः स्थापनाका लागि अभियान सञ्चालन गरेका छन्।
जिल्ला कृषि विकास कार्यालयमा रहेको कृषि विकास निर्देशनालय र पुशपक्षी तथा मत्स्य विकास निर्देशनालय भैरहवामा रहनु पर्ने माग गर्दै नयाँ शक्ति पार्टी नेपालले विरोध एवम् हस्ताक्षर अभियान थालेको हो।
यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद एवम् स्थानीय तहका प्रमुखहरू हस्ताक्षर अभियानमा सहभागी भएका छन्।
प्रदेश ५ सांसद सन्तोष पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, वडाअध्यक्षहरू, विभिन्न दलका नेता, समाजसेवी, उद्योगी, व्यवसायी, सर्वसाधरण लगायतले हस्ताक्षर गरेका छन्।
‘यहाँ सरकारी कार्यालयका खाली भवन हुदाँहुदै पनि भाडा तिर्नेगरी यहाँबाट षड्यन्त्र पूर्वक कार्यालयहरू सारिएका छन्,’ नयाँ शक्ति सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपालले भने, ‘यो हामीलाई स्विकार्य छैन, सारिएका कार्यालय पुनः स्थापना हुनुपर्छ।’
हस्ताक्षर अभियान भोलिसम्म जारी रहने नयाँ शक्तिले जनाएको छ।
त्यस्तै भएजतिको प्रदेशको मन्त्रालय पनि बुटवलमा राखिएको कारण भैरहवाबासीले विरोध जनाएका छन्।
प्रदेश सरकारले राजधानीलाई एउटा गाउँपालिका र नगरपालिकाको केन्द्र जस्तै बनाएको भन्दै प्रदेश पाँचका सांसद सन्तोष पाण्डेयले आपत्ति जनाए।
उनले प्रदेश ५ को राजधानी रुपन्देही तोकिएको भन्दै प्रदेश मन्त्रालयहरू बुटवलमा मात्र नभई भैरहवा र लुम्बिनीमा पनि राखिनुपर्नेमा जोड दिए।
उनले सरकारले दुई तिहाइको दम्भमा भैरहवामा स्थापित निर्देशनालय धमाधम बुटवल क्षेत्रमा सारेको प्रति आक्रोश पोख्दै सरकार नसच्चिए आफूहरू आन्दोलनमा उत्रने चेतावानी दिए।
निर्देशनालय सारिएको विषयमा संसदमा आफूले सरकारको स्पष्ट धारणा माग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।