राजविराज– वसन्त पञ्चमी नजिकिँदै छ। सप्तरीको राजगढ गाउँपालिका–४, वेल्ही चपेनाका २७ वर्षीय अरुण मुखिया यतिबेला मूर्ति बनाउन व्यस्त छन्। अर्डर अनुसारका सरस्वतीका मूर्ति बनाउनुपर्ने चटारोले हिजोआज उनको धपेडी बढेको छ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित चतरी वनैनियाँमा मुखिया वर्षभरी नै मूर्ति बनाउँछन्। सिमेन्टबाट मूर्ति बनाएर बिक्रीवितरण गर्नु उनको जिविकोपार्जनको प्रमुख स्रोत हो। तर, सरस्वती पूजा, विश्वकर्मा पूजा, दशैं, लक्ष्मी पूजा, कृष्ण जन्माष्टमीजस्ता चाडपर्वमा भने उनलाई भ्याइनभ्याइ हुुन्छ। ‘चिनेजानेका सबैले मूर्तिका लागि आग्रह गर्छन्’, उनी भन्छन्, ‘त्यसैले यस्तो बेलामा चाहिँ राजविराजमै आउँछौं।’

उनीसहित भाइहरु रवि र श्यामकुमारको टिम नै यतिबेला राजविराज सरेको छ। यस टोलीले सरस्वती पूजाका लागि हालसम्म करीब २ लाख मूल्य बराबरका ६२ वटा मुर्ति बनाइसकेका छन्। जसको मूल्य १ हजार ५ सयदेखि २५ हजारसम्म राखिएको छ। सबै मूर्ति बिक्री हुँदा करीब ५०/६० हजार रुपैयाँ कमाइ हुने उनीहरुको अनुमान छ।
विभिन्न विद्यालय तथा शैक्षिक संघसंस्थाबाट आएको अर्डर पुरा गर्न उनीहरुलाई अहिले हम्मे–हम्मे छ। ‘पुसको पहिलो सातादेखि नै सुरु गर्दा पनि माग अनुसारका मूर्ति बनाउन सकिएन’, अरुण भन्छन्, ‘अब आउनेलाई सकिँदैन भनेर फिर्ता पठाउन थालेका छौं।’
अरुण मात्र होइन, सप्तरीमा उनीजस्ता अधिकांश मूर्तिकारहरुलाई यतिबेला उस्तै चटारो छ। ४ सय १२ सामुदायिक विद्यालयसहित करीब ७/८ सय शैक्षिक संस्था तथा गाउँ/गाउँमा मूर्ति नै स्थापना गरी पूजा गर्ने परम्पराले मूर्तिकारहरुको व्यस्तता बढेको हो।

तर, पृथक कलाकारीताका कारण अरुणले बनाउने मूर्तिको माग अन्यको तुलनामा बढी छ। अरुणले बनाउने मूर्तिमा बंगाली कलाकारीताको प्रभाव छ। १०/१५ वर्षअघिसम्म सप्तरीमा बंगाली कलाकारहरु आएर १/२ महिना बस्ने र अर्डर अनुसारका मूर्ति बनाएर फर्किन्थे। तिनै मध्येका ‘तापस पाल’ भन्ने व्यक्ति लामो समयसम्म सप्तरीमै रहे। उनकै कलाकारीताको प्रभावमा अरुणमा परेको हो। ‘सानैदेखि उनैसँग काम गर्न थालें, मूर्ति बनाउन सिक्ने नसाले पढ्न पनि सकिन’, उनी थप्छन्, ‘अहिले कमाइ गर्ने अर्को उपाय छैन, मूर्ति बनाउनुको विकल्प नै रहेन।’
चाडपर्वबाहेकको समयमा भने मूर्तिको माग कम हुनेगरेको बताउँछन् उनी। ‘मुस्किलले वर्षमा ७/८ लाख रुपैयाँ कमाइ हुन्छ। सबैले बाँडेर घर खर्च चलाउँछौं’, उनले भने। गाउँमा भएको १०/१२ कठ्ठा जग्गामा खेती र मूर्ति बेचेको पैसाले जासोतसो परिवारको गुजारा चलाइरहेको श्याम बताउँछन्।

कालाकारीता र परिश्रम गरेर जिविकोपार्जन गर्ने वर्गलाई सरकारले बेवास्ता गरेको उनीहरुको बुझाई छ। ‘हामी अर्डरअनुसारका जस्ता मूर्ति पनि बनाउँछौं’, श्याम भन्छन्, ‘तर, पूँजी छैन, कसैले सहयोग पनि गर्दैन।’
सरकारले सहुलियत ब्याजमा ऋण र बनाएका सामानको बजारीकरणमा सहयोग गरे मुर्तिकार मात्र नभइ कलाकारहरुको जीवन सहज हुने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।