जुम्ला- सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ। उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ।
डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो। मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि भाइको शव बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो।
स्थानीयवासी नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरिद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए। घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्यांग्रिएर अचेत अवस्थामा पुगेका हुन्
शव भेटिएको स्थानमा करिब दुई फिटभन्दा बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन्।
प्रहरी निरीक्षक प्रकाश केसीले घटना वास्तविक भए पनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिनाका कारणबारे अनुसन्धान भइरहेको बताए।
चिसोले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती बढी प्रभावित भएका छन् भने बिरामीको सङ्ख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।