खोटाङ- प्रदेश १ कि सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छिन्। आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफूलाई हलुका र शक्तिशाली महसुस भएको उनले अनुभूति सुनाइन्।
मातृशाेकमा परेकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भएपनि ठूलो कुरा नभएको धारणा व्यक्त गरिन्। 'समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागिे कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ', उनले भनिन्, 'जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मसन्तुष्टिका लागि र दिवङ्गत आत्माको चीर शान्तिका लागि कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ।'
दिक्तेलमा बुधबार आयोजित पत्रकार भेटघाटमा सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर छोरीले नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको मत राखिन्। 'छोराछोरी दुवै सन्तान भएकाले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्छ', राईले भनिन्, 'सबै छोरीले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभई आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि बुबाआमाको काजकिरिया बस्दा हुन्छ।'
मुलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक–सांस्कृतिक पाटो सुधार गर्नुपर्नेमा सांसद राईले जाेड दिइन्।
उनकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो। काठमाडौंमा ५ दिन काजकिरियामा बसेकी सांसद राईले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर थप ७ दिन बसेर काजकिरिया पूरा गरेकी हुन्।
सासुको काजकिरियाका लागि सांसद राईका श्रीमान् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आएका थिए।
सांसद राईले आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्न अक्षयकोष स्थापना गरेकी छिन्। आमाको १३औँ पुण्यतिथिको अवसर पारेर सोमबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा उनले सो कोष स्थापना गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।