काठमाडौं- बुधबार काठमाडाैंका छुट्टौछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-८ की १८ वर्षीया अनिमा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, काठमाडौं महानगरपालिका– १ भाटभटेनीमा बा३०प २६४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको इनारमा खस्दा मोटरसाइकलमा सवार वसुन्धारामा डेरा गरी बस्ने २३ वर्षीय शर्मा गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय राजदेव चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।