बनेपा– काभ्रेको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा बुधबार दिउँसो भएको बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का ५० वर्षीया शान्तादेवी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
उनको टाउको र घाँटीमा चोट रहेको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। शङ्खुबाट पनौतीतर्फ आउँदै गरेको बा२ख ५२१२ नंको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो।
दुर्घटनामा परि घाइते भएकामध्ये तीन जनाको स्थानीय मेडिकलमा उपचारपश्चात् घर फर्किसकेका छन् भने बाँकीको धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
गिरीका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा चार र शिरमेमोरियल अस्पतालमा आठ जनाको उपचार भइरहेको छ।
अन्य घाइते उपचारपश्चात् घर फर्किसकेका छन्। बसमा ४० यात्रु सवार थिए। पानी परेकाले सडक छेउ भासिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।