भद्रपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी (जीटुजी) प्रक्रियामार्फत अघि बढाउने बताएका छन्।
प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको धारणा व्यक्त गरे।
उनले बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने पनि जानकारी दिए।
मन्त्री अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने गरी सरकारले तयारी गरिरहेकाे जानकारीसमेत दिए। 'सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ', उनले भने, 'सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुनेमा हामी ढुक्क छाैं।'
मन्त्री अधिकारीले सन् २०१९ को अगस्टमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने उनले बताए। सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने बताउँदै मन्त्री अधिकारीले यसै वर्षदेखि मुलुकका ९ वटा विमानस्थलमा रात्रि उडान गर्ने जानकारी दिए।
मन्त्री अधिकारीले रात्रि र बाह्य मुलुकसम्म उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल तथा ४ वटा पर्यटकीय स्थलको निरीक्षणसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।