काठमाडौं- देउडा गीत भन्नेबित्तिकै धेरैको सम्झनामा आउने लय हो, ‘राइ झुमा’। बर्सेनि दर्जनौं संख्यामा रेकर्ड भइरहेका देउडामध्ये ‘राइ झुमा’ त्यस्तो गीत हो, जसले अहिलेसम्म पनि देउडा गीतको प्रतिनिधित्व गरिरहेको छ। यसमा रहेको सरल र सांकेतिक शब्द र चाँडै जिब्रोमा झुन्डिन सक्ने लयले सम्पूर्ण नेपाली गीतका स्रोता यो गीतसँग परिचित भएका हुन्।
सुदूर र मध्यपश्चिमका केही जिल्लामा प्रचलित देउडालाई राष्ट्रिय स्तरमा चर्चित बनाउन यो गीत सफल छ। गीतको लयलाई स्थानीय महिलाले गर्ने रत्याणी (रत्यौली) बाट सापट लिइएको र शब्दमा देउकी (मन्दिरमा चढाएकी कुमारी) लाई बिम्वका रुपमा प्रयोग गरिएको बताउँछन्, गायक तथा गीतकार यज्ञराज उपाध्याय। अछाममा जन्मिएका उपाध्यायले त्यहाँकै महिलाले रत्याणीमा प्रयोग गर्ने लयबाट प्रभावित भएर यो गीत तयार पारेका थिए।
‘राइ झुमा’का दुइटा अर्थ छन्। राइझुमा जोडेर लेख्दा (देउकी) र छुट्याएर लेख्दा राइ (चिनिस्) र झुमा (किशोरीको नाम) हुन्छ। उपाध्यायले यी दुवै अर्थ खुल्ने गरी गीत बनाएका छन्। २०४२ सालमा पहिलोपल्ट लेख्दा उनले देउकीकै विम्ब लेखे– 'राइझुमा झुमा क्या मस्क्याकी छौ' अर्थात्, देउकी किन निराश छौ?
गीतमा देउकीकै कथा यसरी उनिएको थियोः
झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्याँ
कोई छैन जीवनको साथी हृदय बुझाउन्याँ
मन्दिरमा चढाइएका विवाह गर्न नपाउने युवतीका यी वेदना अरुका पनि साझा थिए।
स्वर परीक्षाका लागि रेडियो नेपालमा २०४५ सालमा उनले यही गीत रेकर्ड गराएका थिए। तर, उनलाई रेडियोमा मात्रै रेकर्ड गराएर धीत मरेन। २०५१ मा एल्बमै ल्याए, ‘राइझुमा’। त्यसपछि यो गीतको लोकप्रियता झनै बढ्यो।
उसो त यो गीत गैरदेउडा संस्कृतिका स्रोतालाई पनि मन पर्छ। सुदूरपश्चिमको भन्नेबित्तिकै ‘राइ झुमा गाउन आउँछ?' भन्ने प्रश्न धेरैले झेलेका छन्। यो गीत गैरदेउडा संस्कृतिकाले पनि मन पराउँछन् भन्ने महसुस गायक उपाध्यायले नेपालगञ्जमा पढ्दै गरिसकेका थिए। किनभने यही गीतबाट उनले क्षेत्रीय लोकगीत प्रतियोगिताको उपाधि हात पारेका थिए।
गीत विरहको थियो। तर, मान्छेहरु खुसीले उफ्रीउफ्री नाच्न थाले। सबैले ठिकठाकै माने पनि उपाध्यायलाई यस्तो गरेको खासै चित्त बुझेन। त्यसपछि २०५९ मा यही गीतलाई रमाइलो लय बनाएर रेकर्ड गरे, दोहोरीका रुपमा। पहिले सँगै भएको ‘राइझुमा’ छुट्टिएर ‘राइ झुमा’ भयो, जसको अर्थ ‘चिन्यौ केटी’ भन्ने हुन्छ। त्यसपछि सुरु गरे ती युवतीसँग ठट्टा र रमाइलो गरेका गीत लेख्न। प्रश्नोत्तर शैलीमा लेखिएका गीतमा भएका ख्याल ठट्टाले नाच्नेलाई न्याय गर्यो। गीतमा महिला स्वर गायिका कोमल वलीको छ। यसै देउडाको पर्याय बनिसकेको यो गीत रमाइलो शब्दमा आएपछि झन् फैलियो। युवायुवती यही गीत गाएर देउडा खेल्न थाले। देउडा संस्कृति नभएकाहरु शब्दको अर्थ नबुझी गुनगुनाउने मात्रै होइन, नाच्न पनि थाले।
पहिलो पटक देउडा गीत अरुले पनि सुन्दा रहेछन् भन्ने कुरा २०४४ सालमा नाचघरमा आयोजित एउटा कार्यक्रममा गायक उपाध्यायले महशुस गरेका थिए। जब यो लोकगीत भन्दै उनले ‘राइ झुमा’ गाए, नामी कलाकारले गाउँदा हाई काढेर बसेका दर्शक पनि उठेर नाच्न थाले। उनी सम्झिन्छन्, ‘सानैदेखि गायक बन्ने रहर गरे पनि गायक नै बन्न संकल्प गर्न त्यो दिनले सघाएको थियो।’
हालसम्म १३ वटा देउडा गीतका एल्बम र दुई सय हाराहारीमा गीत गाइसकेका उपाध्यायको परिचय नै राइझुमा हो। यज्ञराज उपाध्याय भनेर चिन्नेभन्दा ‘राइझुमा दाइ’ भनेर चिन्ने धेरै छन्। यही गीतको ख्यातिका कारण उनका प्राय: एकल गायन कार्यक्रम ‘राइझुमा साँझ’ बन्छन्। गीतको नामबाट रेस्टुरेन्ट र पसलको नामसमेत राखिएको छ।
यही गीतमार्फत देउडा गीत र संस्कृतिको प्रचारप्रसार गरेकाले उनले प्रज्ञा प्रतिष्ठान स्थापनाको ५५ वर्षे इतिहासमा सुदूरपश्चिमबाट नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको पहिलो प्राज्ञ परिषद् सदस्य हुने अवसर समेत पाएका छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।