जनकपुर– नेपाल पत्रकार महासंघ प्रदेश–२ ले प्रदेश आमसञ्चार ऐनको मस्यौदा सुझाव प्रदेश नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको छ।
प्रदेश महासंघका महासचिव किरणकुमार कर्णले सुझाव संसदीय दलका नेता रामसरोज यादवलाई शुक्रबार हस्तान्तरण गरे। महासंघ प्रदेश समितिले ‘आमसञ्चार ऐनको मस्यौदा २०७५’ पत्रकारमैत्री रहेको जनाएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता, नेपालको संविधानको व्यवस्था र नेपालमा कार्यान्वयनमा रहेका ३ तहका सरकारको मूल मर्मअनुरुप यो मस्यौदा तयार भएको महासचिव कर्णले बताए।
कर्णले मिडियामाथि राज्यका कुनै पनि तहका निकायबाट हस्तक्षेप हुनुहुँदैन भन्ने मान्यताअनुरुप मिडियासम्बन्धी स्वतन्त्र र स्वायत्त संरचनाको कल्पना गरिएको बताए।
मस्यौदामा मिडियामा समावेश सामग्रीबाहेक अन्य नियमन गर्न तथा हाल केन्द्रमा सूचना विभाग, प्रेस काउन्सिल र सञ्चार मन्त्रालयसमेतले गरिरहेको मिडियाको वर्गीकरण, प्रशिक्षण, लोककल्याणकारी विज्ञापन वितरण, मिडियाको अभिलेखीकरण र लाइसेन्स वितरणजस्ता कामका लागि प्रदेश स्तरमा स्वतन्त्र र स्वायत्त खालको प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने प्रस्ताव छ।
मिडियाको कन्टेन अनुगमन, उजुरी सुनुवाइ र कारबाही तथा प्रेस पास वितरणका लागि भने केन्द्रको प्रेस काउन्सिल र अदालतहरुलाई अधिकार रहने महासंघले यसअघि नै स्पष्ट गरिसकेको मस्यौदामा उल्लेख छ।
महासचिव कर्णले मस्यौदाबाट प्रदेश सरकारलाई कानुन निर्माणमा पुग्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले एकीकृत सूचना तथा सञ्चार विधेयक ल्याउने तयारी गरिरहेका बेला महासंघको आमसञ्चारसम्बन्धी मस्यौदाले व्यपाक सहयोग मिल्ने बताए।
सुझावस्वरुप प्रस्तुत मस्यौदामा केन्द्रमा रहेको मिडियाको दर्ता, नवीकरण, वर्गीकरण, विज्ञापन वितरण, पत्रकारिता प्रशिक्षणसहितका अधिकारहरु प्रदेश र स्थानीय तहमा ल्याउन प्रस्ताव गरिएको छ।
मिडिया दर्ता, नवीकरण तथा सरकारी विज्ञापनको भुक्तानीसम्बन्धी व्यवस्था स्थानीय तहबाटै हुने प्रस्ताव मस्यौदामा छ।
प्रेससम्बन्धी एकीकृत कानुनको अवधारणाअनुरुप यो ऐन मस्यौदा तयार गरिएको छ। प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र पत्रकार हितका लागि पत्रकार वृत्ति कोषको स्थापना जस्ता प्रावधान मस्यौदामा राखिएको छ।
साथै प्रादेशिक आमसञ्चार प्राधिकरणको स्थापना, उद्देश्य, गठन, काम, कर्तव्य र अधिकार, प्रादेशिक आमसञ्चार प्राधिकरणको स्थापना, पत्रपत्रिकासम्बन्धी व्यवस्था, प्रसारणसम्बन्धी व्यवस्था, अनलाइनसम्बन्धी व्यवस्था, प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्था, सम्परीक्षण समिति, आमसञ्चार माध्यमलाई सुविधा र विज्ञापनसम्बन्धी व्यवस्थाबारे उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।