काठमाडाैं- सरकारले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्ने भएको छ।
स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचारलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्।
शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले लिखित परीक्षा पास गरेर आएका समाचार वाचक वा वाचिकाहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको उल्लेख गर्दै केहीलाई करारमा राखेर सो आवश्यकता पूर्ति गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे।
समावेशीतालाई असर नपर्ने गरी सो व्यवस्था गर्ने सञ्चारमन्त्री बास्कोटाको योजना छ।
बैठकमा समितिका सदस्यहरुले नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन र जनतामा सहज पहुँच पुर्याउने योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।