काठमाठौं– जिल्ला अदालत ललितपुरबाट १२ करोड रुपैयाँ भन्दा बढी जरिवाना र २ वर्ष कैदको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले १२ करोड, ३५ लाख ९६ हजार ५ सय ४ रुपैयाँ जरिवाना सुनाइएका फरार व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–१७ कौशलटारका ५२ वर्षीय योगेन्द्रमणी दाहाल रहेका छन्।
उनलाई सो रकम र २ वर्षसम्मको कैदको फैसला जिल्ला अदालत ललितपुरले गत वर्षको मंसिर १४ गते सुनाएको थियो। त्यसपछि उनी फरार भएका थिए।
ललितपुरमा रहेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोक कुमार श्रेष्ठले दिएको ठगी मुद्दामा उनी दोषी साबित भएका थिए।
उनलाई कारबाहीका लागि जिल्ला अदालत ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।