काठमाडौं– ललितपुर र उदयुरबाट अवैध लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–२ महालक्ष्मीस्थानबाट गाँजा ८ सय ग्राम, नियन्त्रित नाइट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, १ सय एमएमको एक्सिलोन १ बोतल र १ सय एमएमको विनसिरेक्स ३ बोतलसहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखतबहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन्।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उता उदयपुर चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुर बजारस्थित सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर बस्ने २४ वर्षीय गोबिन्द परियारलाई अवैध लागुऔषध गाँजा करिब १ केजीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
सोही स्थानमा रहेको चिया पसलमा चिया खाइरहेका परियारलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।