काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इन्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत ७ जना छन्।
भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ।
प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।