काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन्।
२९७ औं पृथ्वी जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिए। 'उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो। पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,' सन्देशमा भनिएको छ, 'राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन।'
अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको प्रधानमन्त्रीको भनाइ छ। संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मान सहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।