काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गरेकी छन्। बिहीबार अपराह्न उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेकी हुन्।
भेटमा उपराष्ट्रपतिले नेपाल-चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताए। उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताए।
उपराष्ट्रतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। उनले भने, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ। नेपाल पनि आफ्नो भूमिमा चीनविरोधी क्रियाकलाप हुन दिनेछैन।’
‘हामी चीनबाट प्रविधिको आयात गर्न चाहन्छौँ। रेलवेद्वारा जोडिन चाहन्छौँ’, उनले भने, ‘हामी कम्तिमा ७ वटा उत्तर दक्षिण राजमार्गद्वारा चीनसित जोडिन चाहन्छौँ।
उपराष्ट्रपतिले सन् २०१९ मा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै चिनियाँ लगानीकर्ताहरु नेपाल आउने विश्वास व्यक्त गरे।
राजदूत याङछीले अग्रजहरुले स्थापना गरेका दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने आफ्नो निरन्तर प्रयास हुने बताइन्। नेपालको स्वतन्त्रता, विकास र समृद्धिमा चीनको सदैव समर्थन र साथ सहयोग रहने विश्वास व्यक्त गर्दै उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालको विकास र समृद्धिमा सकेको योगदान गर्ने बताइन्।
राजदूत याङछीले आफ्नो कार्यकालमा दुई देशबीचको हवाई उडान थप गर्न चाहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।