कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ४ देखि हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ।
सरकारले प्रदेश सभालाई भूमिका दिन नसकेको आलोचना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रमुखलाई प्रदेश सभाको हिउँदे अधिवेशन माघ ४ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गरिने बताए।
प्रवक्ता शाहकाअनुसार मन्त्रिपरिषद्को बैठकले विभिन्न १० वटा प्रस्तावहरूमा छलफल गरेको छ।
बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, सामाजिक विकास मन्त्रालयको व्यावसायिक सीपमुलक तालिम सञ्चालन कार्यविधि २०७५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन तथा जलाधार तर्फका कार्यक्रम सञ्चालन तथा मार्गदर्शन कार्यविधि २०७५ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास विधेयक, प्रादेशिक वातावरण संरक्षण विधेयक, तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरिएको प्रवक्ता शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।