काठमाडौं- सन् १२६० मा अरनिको तिब्बत गएपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान सुरु गरेका थिए। त्यसपछि भारत हुँदै तेस्रो देश जाने नेपाली रोजगारीका खोजीमा जाने थालेका थिए।
सन् १८७५ देखि नेपालीहरू मलेसिया जान थालेको देवेन्द्र सुर्केलीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ। करिब ७ लाख नेपाली मलेसियामा रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। मलेसियाका प्रायजसो सबै स्थानमा नेपाली पुगेका छन्।
मलेसिया रिटर्नी समाज नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत गरिएको सुर्केलीको सो कार्यपत्र अनुसार बेलायती साम्राज्यको अधीनमा मलेसियाको पेराक राज्यमा स्थानीय फौज विरुद्धको लडाइँका लागि गोर्खालीले पहिलो पटक मलेसिया टेकेको बताइएको छ। नेपालीहरुले त्यसबेला बेलायतलाई समर्थन गरेका थिए। गोर्खाली फौज भने लडाँइपछि नेपाल फर्किएको थियो।
पछि फेरि सन् १९२० तिर नेपाली कामदार मलेसियाको सुनखानीमा काम गर्न समेत पुगेको सो अध्ययनमा उल्लेख छ। त्यस बेला भारतको बाटो हुँदै पानी जहाजमार्फत करिब ५ सय नेपाली एक बेलायती सुनखानीमा काम गर्न मलेसिया पुगेका थिए। तत्काल सुनखानी सुचारु नभएपनि नेपाली कामदार मलेसियामै घरजम गरेर बस्न थाले।
मलेसिया सरकारले रोजगारीका लागि गएका नेपाली युवालाई बस्नका लागि गोर्खा काम्पोङ (गाउँ) नै दिएको थियो। तर, गोर्खा काम्पोङमा नेपालीहरू घर बनाएर नबसेपछि मलेसिया सरकारले उक्त जग्गा नियन्त्रणमा लिएको सो कार्यपत्रमा उल्लेख छ।
मलेसियामा नेपालीलाई गोर्खाली र नेपाली बस्तीलाई गोर्खा काम्पोङ भनेर चिनिन्छ। नेपालीले मलेसियामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएपछि मलेसियन नागरिकले नेपाली युवालाई गोर्खाली गार्ड भनेर रोजगारी दिन थाले।
बिस्तारै मलेसियाले विदेशी कामदार पनि लिन थाल्यो। विश्वव्यापीकरण बढेसँगै नेपाली पनि कामको खोजीमा विभिन्न देशका साथै मलेसिया पनि पुग्न थाले। नेपालीका विषयमा मलेसिया लामै समय पहिलेदेखि नै जानकार रहेकाले नेपाली कामदार लिन उसलाई गाह्रो पनि भएन।
रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदारलाई मलेसियन नागरिकले सम्मान र विश्वास गर्ने गरेका एनआरएनए मलेसियाका महासचिव सुन्दर आले बताउँछन्। मलेसियन नागरिक, व्यवसायीले सुरक्षा गार्डका लागि नेपाली कामदार बढी रुचाउने गरेका छन्।
मलेसियन नागरिकले नेपालीलाई सुरक्षा गार्डमा रोजगारीमा राख्दा सुरक्षित महसुस गर्ने गरेको महासचिव आलेले बताए।
पछिल्लो समय नेपाली कामदार रोकिदाँ मलेसियन नागरिक र रोजगारदाता कम्पनी चिन्तित बनेका छन्।
मलेसिया रिटर्नी समाजका अनुसार नेपालबाट कामदार जाने प्रक्रिया बन्द भएपछि नेपाली श्रमिक ल्याउन मलेसियाका व्यवसायीले त्यहाँको सरकारलाई दबाब दिएको बताइएको छ।
२ हजार नेपालीले लिएका थिए मलेसियाको नागरिकता
मलेसियामा सन् १९२० मा सुनखानीमा काम गर्न गएका करिब २ हजार नेपालीले मलेसियाको नागरिकता पाएको सो अध्ययनमा उल्लेख छ। पुर्ख्यौली घर गुल्मी भएका एनआरएन मलेसियाको पूर्व उपाध्यक्ष शंकर पौडेलका अनुसार मलेसियाली नागरिकता प्राप्त गरेका थिए।
उनीहरुले मलेसियाका नागरिक सरह सुविधा र अधिकार पाएको उनको भनाई छ। मलेशियामा करिब ७ लाख नेपाली रोजगारीमा कार्यरत छन्।
एनआरएन मलेसियाका अनुसार त्यहाँ नेपालीका ७२ वटा विभिन्न संघसंस्थाहरू छन्।
मलेसियामा करिब ७ लाख नेपाली छन्। त्यसमा करिब २ लाख करार अवधि सकिएपनि रोजगारदाता कम्पनीको शरण लिएर काम गरिरहेको अध्ययनमा जनाएको छ। यी संघसंस्थाबाट पीडित नेपालीको उद्धारका साथै विभिन्न रोग लागेका बिरामीलाई सहयोग जुटाउने काम हुँदै आएको बताइएको छ। मलेसियामा व्यवसाय गर्ने नेपालीको संख्या पनि बढ्दै गएको छ।
सन् २००२ देखि नै मलेसियाको क्वालालम्पुरस्थित पहिलो पटक नेपाल हाउसको स्थापना भएको थियो। रिटर्नी समाज नेपालको अध्ययन अनुसार हाल नेपाली रेष्टुरेन्ट र पसलहरुको संख्या बढ्दै गएका छन्।
नेपाल बिजनेस सोसाइटी अफ मलेसिया व्यवसायीको छुट्टै संगठन रहेको छ।
धेरै रेमिट्यान्स मलेसियाबाट
रोजगारीका लागि नेपालबाट मलेसिया पुगेका नेपाली कामदारबाट निकै ठूलो रकम रेमिट्यान्सका रुपमा भित्रने गरेको छ। मलेशियामा पसिना बगाएर कमाएको पैसा सुरुमा मानिसहरुले आफू आउँदा सँगै लिएर आउने चलन थियो। तर पछिल्लो समय बैंक तथा रेमिट्यान्सबाट रकम भित्रने गरेको छ। मलेसियाबाट मात्र वार्षिक ३५ प्रतिशत रेमिट्यान्स नेपाल भित्रने गरेको छ।
अवैध बाटोमार्फत पनि मलेसियाबाट रकम नेपाल भित्रने गरेको छ। गएका १० वर्षमा मलेसियाबाट करिब १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।
मलेशिया रिटर्नी समाजको अध्ययन अनुसार नेपाली कामदार मलेसियामा रोजगारीका लागि गएपछि उनीहरुले त्यहाँ गरेको सीप लिएर नेपाल आउने र त्यहाँको भाषा, रहनसहन, काम गर्ने वातावरण बारे राम्रोसँग बुझेर आउने गरेका छन्।
नेपालमा श्रमको मूल्य नबुझ्नेहरूले समेत मलेसियामा पसिना बगाएपछि श्रमको महत्व बुझ्ने र श्रमिकमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ।
मलेशियाबाट नेपाल फर्किएपछि नेपालीले नेपालमै व्यवसाय सञ्चालन गर्दै आएका पनि छन्। वर्तमान सन्दर्भमा मलेशियाबाट रोजगारी गरेर फर्किएका नेपाली कामदार संगठित भएर नेपालमै व्यवसाय गर्ने सोच बनाएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।