सिओल(दक्षिण कोरिया)- दक्षिण कोरियामा नेपालीहरूले गठन गरी वर्षौँदेखि सक्रिय रहेका नेपाली संघसंस्थाहरू वैधानिक रूपमा दर्ता बिनै सञ्चालनमा रहेका छन्। वैधानिकता प्राप्त नगरे पनि संघसंस्थाहरू बेलगाम चलिरहेका छन्।
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्था ‘सोनसिक’ बाहेक यहाँ सञ्चालित अन्य कुनै पनि संस्था दर्ता भएका छैनन्। आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन्। नेपालीहरूले सञ्चालनमा ल्याएका दर्जनौं संस्थाले कानुनी वैधता प्राप्त गरेका छैनन्। बिनादर्ता वर्षौंदेखि कोरियामा सामाजिक तथा सांस्कृतिक गतिविधिहरू गरिरहेका छन्।
नेपाली विद्यार्थी समाज (सोनसिक) भने सन् २०१५ मा कोरियाको स्थानीय सरकारमा दर्ता भई वैधानिक रुपमा सञ्चालित छ।
त्यस्तै एनआरएन स्थापनाको दसौं वर्षपछि वि सं २०७० मा वैधानिक रूपमा नेपाल सरकारअन्तर्गत परराष्ट्र मन्त्रालयमा दर्ता भएपनि कोरिया च्याप्टर भने दर्ता हुने क्रममा रहेको छ। कोरियामा सन् २००६ मा स्थापना गरिएको यो संस्था सञ्चालनको १२औं वर्ष बितिसक्दा पनि दर्ता प्रक्रियामा जान सकेको छैन।
एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले संस्था दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्। अबको एक वर्ष भित्रमा संस्थाले कोरियामा वैधानिकता प्राप्त गर्ने दाबी गरिन्।
तर कोरियामा नेपालीहरूको मियो संस्थाका रूपमा परिचित नेपाली सम्पर्क समिति दक्षिण कोरियाले स्थापनाको रजत जयन्ती मनाईसक्दा समेत वैधानिकता पाएको छैन। कोरियामा नेपाली दूतावास नभएकाले सुरुमा नेपालीको पासपोर्ट बनाउन जापान जानुपर्ने अवस्था थियो। यही काममा यो संस्थाले सहयोग गर्ने गरेको थियो।
यो संस्थाले दूतावासको भूमिका निर्वाह गरी नेपाली कामदार र व्यवसायीलाई गुण लगाएको थियो। संस्थाले कोरियाका समाजिक अभियन्ताहरुको सहयोगमा ठुला सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिसकेपनि कानुनी वैधता प्राप्त गरेको छैन।
समितिकी अध्यक्ष अञ्जु केसीले संस्था दर्ता प्रक्रियाका लागि संस्थाका पदाधिकारीहरूमा कोरियामा स्थायी रुपमा अथवा लामो समय बसोबास गर्ने व्यक्ति नभएका कारण दर्ता गर्न नसकिएको बताउँछिन्। उनले कोरियाको कानुनी जटिलताका कारण समयमै संस्था दर्ता गर्न नसकिएको उल्लेख गरिन्।
कोरियामा जिल्ला सम्पर्क समितिदेखि क्षेत्रीय संस्थाहरू करीब सयको हाराहारीमा रहेको अनुमान छ। यी संस्थाहरूले प्रत्येक वर्ष पालैपालो सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेका छन्।
कतिपय संस्थाहरूमा बेलाबेलामा आर्थिक अपारदर्शिताका विषयहरु चुलिएर विवादमा आउने गरेको छ। कोरियामा संस्था दर्ता भईसकेपछि आर्थिक पारदर्शिता हुने भएकाले सो विषय नै मुख्य उपलब्धिको विषय हुने एनआरएनए कोरियाकी अध्यक्ष गुरुङ बताउँछिन्।
किम्हे माईग्रेन्ट सेन्टरका प्रमूख यज्ञराज सुवेदीले विदेशी संस्थाहरूले आफूले गर्ने कार्यक्षेत्र स्पष्ट रुपमा उल्लेख गरेर यहाँको केन्द्रीय सरकारदेखि स्थानीय सरकार मातहत दर्ता हुन सक्ने बताउँछन्। कोरियामा गैर-नाफामुखी संस्थाको रुपमा विदेशी संस्थाहरु दर्ता गर्न पाईने व्यवस्था उल्लेख गर्दै उनले भने ‘दर्ता भएरै संस्था चल्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।