राजविराज– नाम र राजधानीको विषय टुंग्याउन प्रदेश २ को सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगले शनिबार सप्तरी सदरमुकाम राजविराजमा सरोकारवालाहरुसँग छलफल गरेको छ।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न संघ÷संस्थाका प्रतिनिधि, संचारकर्मीलगायत सहभागी रहेको छलफलमा प्रदेशको नाम र राजधानीका विषयमा विभिन्न खाले सुझाव संकलन भएका छन्।
धार्मिक, सांस्कृतिक, पौराणिक, भौगोलिक तथा भौतिक संरचनाका हिसाबले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुने विषयमा सहभागीहरु लगभग एकमत देखिएका छन्। तर, प्रदेशको नामाकरणका विषयमा भने धारणा फरक परेको छ।
प्रदेश २ को नाम राजर्षि जनक, जानकी, मध्य–मधेश, मधेश तथा मिथिला–भोजपुरा प्रदेश राख्न सुझाव दिने सहभागी पनि थिए। कतिपयले मधेस आन्दोलनको म्यान्डेट पूरा गर्न प्रदेशको नाम ‘मधेश’ नै राख्नु पर्ने तर्क गरेका छन्। ‘मधेस आन्दोलन मधेस प्रदेशकै लागि भएको थियो’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले भने–‘आन्दोलनको भावना बिर्सेर भावनामा बग्ने बेला छैन, बिना सर्त मधेश प्रदेशका लागि एक भएर लाग्नु पर्छ।’
प्रदेश सभामा पनि प्रदेश २ को नाम ‘मधेश’ राख्न सत्तापक्ष राजपा र संघीय समाजवादी फोरम नेपाल लगभग एक मत छन्। तर, प्रतिपक्षी दल नेकपा र कांग्रेसका सांसद भने मधेस प्रदेशका विषयमा सहमत हुन सकेका छैनन्।
प्रदेशको नाम, स्थायी राजधानी र भाषाको विषय दुई तिहाईले पास गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण सरकारले पनि बलमिच्याई गर्ने अवस्था छैन।
प्रदेश २ का १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तापक्ष फोरम र राजपाका ५४, नेकपाका ३२ र कांग्रेसका १९ सांसद छन्।
सरकारले सोही समस्यालाई मध्यनजर गरी गत कात्तिक ११ गते डा. हरिवंश झाको संयोजकत्वमा रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य रहेको संवाद तथा सुझाव आयोग गठन गरेको थियो।
मिथिला प्रदेशका लागि ध्यानाकर्षण
छलफलकै क्रममा मिथिला र मैथिलीका लागि संघर्षरत युवाहरुको एक समूहले प्रदेशको नाम ‘मिथिला’ राख्न आयोगको ध्यानाकर्षण गराएको छ।
आफ्नै लिपी, संस्कृति र पहिचान बोकेको क्षेत्र भएकाले प्रदेश २ को नाम मिथिला र कामकाजको भाषा मैथिली वनाउन उनीहरुले माग गरेका छन्। ‘मिथिलाको आफनै इतिहास छ’ मैथिली अभियान्ता निराजन झा भन्छन्–‘बाराको सिम्रौनगढ मिथिलाको प्राचीन राजधानी हो।’ ‘पहिचानकै कुरा गर्ने हो भने पनि प्रदेश २ को नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्ने उनीहरुले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।